पर्सा,१६ पुस। पर्सा जिल्लाको पटेर्वा सुगौली गाउँपालिका–१ स्थित सोनवर्षा स्वास्थ्य चौकीको प्राङ्गणमा शनिबार भव्य रूपमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ।

 

जिल्लामा देखिँदै आएको रगतको अभावलाई मध्यनजर गर्दै सृजनशील शिक्षा विकास केन्द्र, पर्साको आयोजनामा कार्यक्रम सफलतापूर्वक सम्पन्न गरिएको हो। स्थानीय युवाहरूको सक्रिय सहभागिता र सामाजिक उत्तरदायित्वको भावनाबाट प्रेरित भई आयोजना गरिएको कार्यक्रममा २५ जना रक्तदाताले उत्साहपूर्वक रक्तदान गरेका छन्।

कार्यक्रम सफल बनाउन पटेर्वा सुगौली गाउँपालिका वडा नं. ३ को कार्यालयले विशेष सहयोग प्रदान गरेको थियो भने रक्त सञ्चार केन्द्र वीरगञ्जले आवश्यक प्राविधिक सहयोग उपलब्ध गराएको थियो। सुरक्षित र व्यवस्थित रूपमा रक्त संकलन गर्न रक्त सञ्चार केन्द्र वीरगञ्जको प्राविधिक टोली कार्यक्रमभर सक्रिय रूपमा खटिएको थियो।

रक्तदान गर्ने रक्तदाताहरूमा सुलमान मिया दर्जी, प्रविन्द प्रसाद महतो, प्रमोद प्रसाद यादव, विनोद कुमार यादव, धिरज चौधरी, राजाबाबु चौधरी, दिलसाद आलम, रमेश साह, ज्वाला गिरी, मुना तिवारी, राधेश्याम मुखिया, रेयाज खान लगायतका स्थानीय व्यक्तिहरू रहेका छन्। रक्तदाताहरूले सामाजिक सेवामा योगदान गर्न पाएकोमा खुशी व्यक्त गर्दै भविष्यमा पनि यस्ता कार्यक्रमहरूमा निरन्तर सहभागी हुने प्रतिबद्धता जनाएका छन्।

कार्यक्रममा स्थानीय जनप्रतिनिधि तथा कर्मचारीहरूको उल्लेख्य उपस्थिति रहेको थियो। प्रमुख अतिथिका रूपमा वडा अध्यक्षद्वय माधव प्रसाद राउत थारु र फरमान मिया अन्सारी तथा इलाका प्रहरी कार्यालय पटेर्वा सुगौलीका प्रमुख प्रकाश थापा सहभागी भएका थिए। उनीहरूले रक्तदान जस्तो जीवनदायी कार्यले समाजमा सकारात्मक सन्देश फैलाउने भन्दै यस्ता कार्यक्रमलाई निरन्तरता दिनुपर्नेमा जोड दिए।

त्यसैगरी, पटेर्वा सुगौली गाउँपालिकाको स्वास्थ्य शाखा प्रमुख भुजेन्द्र प्रसाद यादव, योजना शाखा प्रमुख राजकुमार महतो तथा रक्त सञ्चार केन्द्र वीरगञ्जका प्राविधिक मनिष साहसहितको टोलीले कार्यक्रमलाई सहजीकरण गरेका थिए।

रक्त सञ्चार केन्द्र वीरगञ्जका प्राविधिक मनिष साहले कार्यक्रममा २५ जनाबाट सफलतापूर्वक रक्त संकलन गरिएको जानकारी दिँदै रगतको अभावका कारण कसैले पनि ज्यान गुमाउन नपरोस् भन्ने उद्देश्यले वडा कार्यालय र स्वास्थ्य निकायसँगको समन्वयमा यस्तो कार्यक्रम आयोजना गरिएको बताए।

स्थानीय तह, सामाजिक संस्था र युवाहरूको सहकार्यमा सम्पन्न यस रक्तदान कार्यक्रमले समाजमा मानवता, सहयोग र सेवाको भावना अझ सुदृढ बनाउने विश्वास व्यक्त गरिएको छ। आयोजक संस्थाले आगामी दिनमा पनि यस्ता सामाजिक तथा स्वास्थ्यसम्बन्धी कार्यक्रमहरू निरन्तर सञ्चालन गर्ने जनाएको छ।