पर्सागढी । पर्सागढी नगरपालिका–३ मा अवस्थित जुनतारा महिला बचत तथा ऋण सहकारी संस्थाको १६औँ वार्षिक साधारणसभा शनिबार सम्पन्न भएको छ। संस्थाकी अध्यक्ष मन्जु क्षेत्रीको अध्यक्षतामा आयोजित साधारणसभाको प्रमुख अतिथि पर्सागढी नगरपालिकाका नगर प्रमुख गोकर्ण पाठकले पानसमा दीप प्रज्वलन गरी उद्घाटन गरेका थिए।

उद्घाटन समारोहमा बोल्दै प्रमुख अतिथि पाठकले महिलाहरूको इमानदारी, मेहनत र सामूहिक प्रयासका कारण जुनतारा सहकारीले अन्य सहकारीभन्दा राम्रो आर्थिक प्रगति हासिल गरेको बताए। उनले छरिएर रहेका पूँजीलाई एकत्रित गरी व्यापार, व्यवसाय र कृषिमा लगानी गरिएको उल्लेख गर्दै अब छरिएर रहेका सीपलाई प्रोत्साहन गरी दिगो विकासमा टेवा पुर्‍याउन पालिकाले सहकारीसँग सहकार्य गर्दै अघि बढ्ने प्रतिबद्धता जनाए।

कार्यक्रममा झाब्राहा दुग्ध उत्पादक सहकारी संस्थाका अध्यक्ष विक्रम कार्की, सुनाखरी कृषि सहकारी संस्था झाब्राहाका अध्यक्ष दिपेश नेपाल, समाजसेवी टंकबहादुर क्षेत्री, अशोक बुर्लाकोटी, मिना देवी क्षेत्री तथा सञ्चारकर्मी बलिराम शुक्लाले शुभकामना मन्तव्य व्यक्त गरेका थिए।

खुला सत्रमा संस्थाको वार्षिक लेखा प्रतिवेदन प्रबन्धक उर्मिला कार्की र लेखा समिति सदस्य टुका आचार्यले प्रस्तुत गरेका थिए। प्रतिवेदनअनुसार संस्थाले आर्थिक वर्ष ०८१/८२ मा २ करोड ३७ लाख २४ हजार रुपैयाँ कारोबार गरेको र सो अवधिमा ७ लाख ५६ हजार १ सय रुपैयाँ नाफा आर्जन गरेको जानकारी दिइएको छ। ऋण सम्बन्धी प्रतिवेदन नोजकुमारी पौडेलले प्रस्तुत गरेकी थिइन्।

साधारणसभाको अवसरमा जेष्ठ नागरिक तथा असल ऋणीहरूलाई मायाको चिनोसहित सम्मान गरिएको थियो। कार्यक्रमको स्वागत मन्तव्य संस्थाकी सदस्य बिना पौडेलले गरेकी थिइन् भने कार्यक्रम सहजीकरण हिरा आचार्यले गर्नुभएको थियो।