शैलेश गुप्ता/ २६ पौष /पोखरिया ।पर्सा जिल्लाको पोखरिया नगरपालिका–४ मा अवस्थित प्रादेशिक अस्पताल पोखरियाको मधेश प्रदेश सरकारका मुख्यमन्त्री तथा स्वास्थ्य तथा जनसंख्या मन्त्री कृष्णप्रसाद यादवले एक कार्यक्रमबीच संयुक्त रूपमा उद्घाटन गर्नुभएको छ।

उद्घाटन समारोहमा प्रादेशिक अस्पताल पोखरियाका मेडिकल सुपरिटेन्डेन्ट डा. आनन्द रौनियारले अस्पतालबाट उपलब्ध सेवा–सुविधाका बारेमा जानकारी गराउँदै बिरामी उपचारका लागि आवश्यक उपकरण, भौतिक संरचना, ल्याब केमिकल तथा जनशक्तिको आवश्यकता उल्लेखसहितको प्रतिवेदन मुख्यमन्त्री यादवलाई बुझाउनुभएको थियो।

कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री यादवले पोखरिया अस्पताललाई चाँडै उन्नति र प्रगतिको दिशामा अघि बढाइने विश्वास व्यक्त गर्नुभयो। उहाँले मधेश प्रदेशमा कार्यरत चिकित्सकहरूलाई दरबन्दी भएको स्थानमै खटाउन मन्त्रालयका सचिवलाई निर्देशन दिइसकेको जानकारी दिँदै आदेश अटेरी गरे कारबाही गरिने स्पष्ट गर्नुभयो। साथै अस्पतालका लागि आवश्यक भौतिक संरचना, उपचार उपकरण, ल्याब सामग्री र जनशक्ति यथाशीघ्र व्यवस्थापन गरिने आश्वासन दिनुभयो।

पोखरिया नगरपालिकाका नगरप्रमुख प्रद्युमन प्रसाद चौहानले पोखरिया अस्पतालको उन्नति र प्रगतिको कामना गर्दै कर्मचारी व्यवस्थापनलगायत अन्य विकासका विषयमा प्रदेश सरकारको ध्यानाकर्षण गराउनुभयो। उहाँले स्थानीय सरकारले सक्दो सहयोग गरिरहेको र आगामी दिनमा पनि निरन्तर सहयोग रहने प्रतिबद्धता व्यक्त गर्नुभयो। पोखरिया नगर र अस्पतालको समग्र विकासका लागि सर्वपक्षीय सहकार्य आवश्यक रहेको उहाँको भनाइ थियो।

कार्यक्रममा पोखरिया क्षेत्रमा रहेको १२ बिघा ऐलानी जग्गामा रंगशाला निर्माण तथा वडा नम्बर–४ स्थित विशाल हनुमान मन्दिरलाई पर्यटकीय गन्तव्यको रूपमा विकास गर्न बजेटको मागसमेत उठाइएको थियो। पूर्व नगरप्रमुख दिपनारायण प्रसाद रौनियारलगायत वक्ताहरूले विनियोजित बजेट अपर्याप्त भएको भन्दै लिखित रूपमा प्रदेश सरकारको ध्यानाकर्षण गराएका थिए।

प्रादेशिक अस्पताल विकास समिति अध्यक्ष उमेश प्रसाद चौहानको अध्यक्षतामा सम्पन्न कार्यक्रममा विशिष्ट अतिथिका रूपमा स्वास्थ्य तथा जनसंख्या मन्त्री जंगी लाल राय, भूमि व्यवस्था तथा कृषि मन्त्री श्याम पटेल, वन तथा वातावरण मन्त्री शंकर प्रसाद चौधरी, पूर्व मन्त्री जनार्दन सिंह क्षेत्री, पूर्व मन्त्री सुरेन्द्र प्रसाद चौधरी, पूर्व सांसद हरिनारायण प्रसाद रौनियार, प्रदेश सांसद प्रमोद जैसवाललगायतको सहभागिता रहेको थियो।

त्यसैगरी पोखरिया नगरपालिकाका उपप्रमुख रुबी कुमारी ठाकुर, पूर्व उपप्रमुख सलमा खातुन, विभिन्न राजनीतिक दलका प्रतिनिधि, रेडक्रस, सुरक्षा निकायका प्रमुख, बुद्धिजीवी, युवा, सञ्चारकर्मी, अस्पतालका कर्मचारी तथा स्थानीयवासीको उल्लेखनीय उपस्थिति रहेको थियो। कार्यक्रमको सहजीकरण शिव पटेलले गर्नुभएको थियो।

कार्यक्रमको समापन गर्दै विकास समिति अध्यक्ष उमेश प्रसाद चौहानले प्रदेश सरकारले दिएको जिम्मेवारी इमानदारीपूर्वक बहन गर्दै पोखरिया अस्पतालको प्रगतिका लागि अधिकार सुनिश्चित गरेर काम गर्ने प्रतिबद्धता व्यक्त गर्दै सहयोगी सबैप्रति धन्यवाद ज्ञापन गर्नुभयो।