पर्सा, २६ पुस । दिव्य बचत तथा ऋण सहकारी संस्था लि., बिरंचीबर्वाको २८औँ वार्षिक साधारणसभा आज सम्पन्न भएको छ। साधारणसभा पर्साको पोखरिया नगरपालिकास्थित शिव मन्दिरको सभाहलमा आयोजना गरिएको थियो।

साधारणसभामा आर्थिक वर्ष २०८१/०८२ को ९ करोड ५२ लाख ८४ हजार २ सय ७३ रुपैयाँको आय–व्यय विवरण प्रस्तुत गरिएको थियो। साथै आर्थिक वर्ष २०८२/०८३ का लागि १५ करोड ५६ लाख ७० हजार रुपैयाँ बराबरको वार्षिक कार्यक्रम तथा बजेट संस्थाका लेखा प्रशासनिक अधिकृत बृजकिशोर चौहानले प्रस्तुत गर्नुभएको थियो।

दिव्य बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष उमेश चौहानको अध्यक्षतामा सम्पन्न उद्घाटन कार्यक्रममा बोल्दै उहाँले सहकारीले हजारौँ महिला–पुरुषलाई साक्षर बनाउँदै सहुलियत दरमा ऋण उपलब्ध गराई रोजगारीमुखी बनाउँदै आएको बताउनुभयो। बिना धितो लाखौँ रुपैयाँ लगानी गरी कृषि, भैँसी पालन, बाख्रापालन तथा व्यापार व्यवसायमा लगानी गरेर आत्मनिर्भरता बढाइएको उहाँको भनाइ थियो।

अध्यक्ष चौहानले सहकारीमार्फत प्राप्त आम्दानी स्वास्थ्य, शिक्षा, कृषि, सडक तथा मठ–मन्दिर निर्माणमा लगानी हुँदै आएको दाबी गर्दै सेयरधनीहरूलाई संस्थाप्रति विश्वास गरी थप लगानी गर्न आग्रह गर्नुभयो। सहकारीले युवामुखी तथा रोजगारी सिर्जना गर्ने विभिन्न कार्यक्रम अघि सारेको र विशेष गरी महिलालाई प्राथमिकतामा राखी सहुलियत दरमा ऋण प्रदान गर्दै आएको जानकारी दिनुभयो।

साथै संस्थाले मोबाइल बैंकिङ सेवा सञ्चालनमा ल्याइसकेको र छिट्टै मुडली क्षेत्रमा शाखा विस्तार गरिने अध्यक्ष चौहानले बताउनुभयो। उहाँले सहकारी संस्था सुख–दुःखको साथीका रूपमा सदैव सदस्यहरूसँग रहने दाबी गर्नुभयो।

कार्यक्रममा समयमै ऋण लिई समयमै चुक्ता गर्ने उत्कृष्ट सेयर सदस्यहरूलाई गम्छा ओढाई घडी र कदरपत्रसहित सम्मान गरिएको थियो। साथै उत्कृष्ट ऋणी, सेयरधनी तथा कर्मचारीहरूलाई पनि सम्मान प्रदान गरिएको थियो।

साधारणसभामा संस्थाका उपाध्यक्ष सोनालाल कुर्मी, सचिव अनुरुद्ध चाई, कोषाध्यक्ष रामाकान्त पटेल, शिक्षक देवनाथ प्रसाद ठाकुर, उमेश बैठा, पत्रकार लालबाबु बानिया, धर्मेन्द्र चौरसियालगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए। कार्यक्रममा सेयरधनी, कर्मचारी, साधारण सदस्य, सञ्चारकर्मी तथा सुरक्षाकर्मीको उल्लेखनीय सहभागिता रहेको थियो। कार्यक्रम सञ्चालन रामाकान्त पटेलले गर्नुभएको थियो।