पंचगावा।पर्सा। सखुवा प्रसौनी गाउँपालिका–४ मा हुँदै आइरहेको दोस्रो सखुवा प्रसौनी क्रिकेट टुर्नामेन्टको फाइनल खेल आज भव्य रूपमा सम्पन्न भएको छ। फाइनल खेल महुवन र चैनपुर टिमबीच प्रतिस्पर्धात्मक रूपमा सम्पन्न भएको थियो।

टस जितेर पहिले ब्याटिङ गरेको महुवन टिमले निर्धारित २० ओभरमा १८३ रनको लक्ष्य प्रस्तुत गरेको थियो। जवाफी ब्याटिङमा उत्रिएको चैनपुर टिमले उत्कृष्ट प्रदर्शन गर्दै १८ ओभरमै लक्ष्य पूरा गरी उपाधि हात पारेको हो। फाइनल खेलमा उत्कृष्ट ब्याटिङ गर्दै ८५ रन बनाएका चैनपुर टिमका राजन साह ‘म्यान अफ द म्याच’ घोषित भए।

दोस्रो सखुवा प्रसौनी वार्ड नं. ४ क्रिकेट प्रतियोगिताको फाइनल खेलमा प्रमुख अतिथिका रूपमा सखुवा प्रसौनी गाउँपालिकाका मेयर जसवंत यादव, विशिष्ट अतिथिका रूपमा वार्ड नं. ४ का अध्यक्ष आरिफ अंसारी तथा पूर्व विधायक मन्जूर अंसारी ज्यूको उल्लेखनीय उपस्थिति रहेको थियो। अतिथिहरूले खेलाडीहरूको उत्साहवर्धन गर्दै युवाहरूलाई खेलकुदतर्फ आकर्षित गर्न यस्ता प्रतियोगिताले महत्वपूर्ण भूमिका खेल्ने बताए।

आयोजक समितिका अनुसार प्रतियोगितामा प्रथम हुने टिमलाई नगद ४० हजार रुपैयाँ र दोस्रो हुने टिमलाई २० हजार रुपैयाँ पुरस्कार प्रदान गरिएको थियो। प्रतियोगिता अवधिभर अनुशासित खेल भावना, खेलाडीहरूको उत्कृष्ट प्रदर्शन तथा दर्शकहरूको उल्लेखनीय सहभागिताले टुर्नामेन्टलाई थप आकर्षक बनाएको थियो।

स्थानीय युवाहरूको सक्रिय सहभागितामा सम्पन्न यस प्रतियोगिताले क्षेत्रीय खेलकुदको विकाससँगै आपसी सद्भाव, भाइचारा र सामाजिक एकता मजबुत बनाउन महत्वपूर्ण योगदान पुर्‍याएको स्थानीयवासीहरूको भनाइ छ। आयोजक समितिले प्रतियोगिता सफल बनाउन सहयोग गर्ने सम्पूर्ण अतिथि, खेलाडी, प्रायोजक, स्वयंसेवक तथा दर्शकप्रति आभार व्यक्त गर्दै आगामी दिनमा अझ व्यवस्थित र व्यापक स्तरमा प्रतियोगिता आयोजना गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।