काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले ३०४औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा आइतबार बिहान सिंहदरबारको मूल गेटअगाडि रहेको राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको सालिकमा माल्यार्पण गर्नुभएको छ।

राष्ट्रपति पौडेल कार्यक्रम स्थलमा पुग्नासाथ नेपाली सेनाको एक टुकडीले सम्मानस्वरूप सलामी अर्पण गरेको थियो। माल्यार्पण समारोह शान्त र गरिमामय वातावरणमा सम्पन्न भएको थियो।

उक्त अवसरमा उपराष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीश, राष्ट्रिय सभाका अध्यक्षलगायत उच्च पदस्थ व्यक्तिहरूको उपस्थिति रहेको थियो। पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसका अवसरमा राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको योगदान स्मरण गर्दै राष्ट्रिय एकता र सार्वभौमिकताको सन्देश प्रवाह गरिएको थियो।