काठमाडौं, २६ पुस । आगामी माघ १ गतेदेखि नगद कारोबारको अधिकतम सीमा पाँच लाख रुपैयाँ कायम हुने भएको छ। नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरूलाई जारी गरेको एकीकृत निर्देशनमार्फत उक्त व्यवस्था लागू गर्न लागेको हो।

नयाँ व्यवस्थाअनुसार पाँच लाख रुपैयाँभन्दा बढीको कुनै पनि भुक्तानी नगदमा गर्न नपाइने र अनिवार्य रूपमा एकाउन्टपेयी चेक वा सम्बन्धित व्यक्तिको बैंक खातामार्फत मात्र भुक्तानी गर्नुपर्नेछ। साथै कुनै फर्म, कम्पनी, संस्था वा कार्यालयको नाममा जारी गरिने चेकको भुक्तानीसमेत एकाउन्टपेयी हुनुपर्ने व्यवस्था गरिएको छ।

केन्द्रीय बैंकका अनुसार प्राथमिकता प्राप्त पूर्वाधार आयोजना, जलविद्युत्, सडक, सञ्चारलगायत क्षेत्रमा कार्यरत कर्मचारी तथा श्रमिकको पारिश्रमिक र ज्याला भुक्तानीमा भने यस व्यवस्थाले बाधा नपुर्‍याउने स्पष्ट गरिएको छ। त्यसैगरी विभिन्न आयोजनाका लागि आवश्यक मालसामान आपूर्ति, सरकारलाई बुझाउनुपर्ने राजस्व भुक्तानी, बिगो, धरौटी वा जमानत रकम जम्मा गर्न समेत कुनै समस्या नहुने जनाइएको छ।

यस्तै, पेन्सन क्याम्पमार्फत पेन्सन वितरण, सरकारले वितरण गर्ने राहत, अनुदान तथा सहायता रकम, विप्रेषण कम्पनी वा एजेन्टमार्फत लाभग्राहीलाई रकम भुक्तानी गर्ने कार्यमा पनि नगद कारोबार सीमा लागू नहुने राष्ट्र बैंकले स्पष्ट पारेको छ। बचत तथा ऋण सहकारी संस्थाले आफ्ना सदस्यसँग गर्ने दैनिक कारोबारमा नगद भुक्तानी गर्न सकिने व्यवस्था यथावत् रहनेछ।

सरकारले गत मङ्सिर १५ गते नगद कारोबारको सीमा पाँच लाख रुपैयाँमा सीमित गर्ने निर्णय गरेको थियो। सोसम्बन्धी व्यवस्था अर्थ मन्त्रालयले बिहीबार नेपाल राजपत्रमा प्रकाशित गरेसँगै औपचारिक रूपमा कार्यान्वयनको चरणमा प्रवेश गरेको हो।