पवन प्रसाद साह  / वीरगंज । नेपाल राष्ट्रवाद संघले राष्ट्रनिर्माता श्री ५ बडामहाराजाधिराज पृथ्वीनारायण शाहको ३०४औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा वीरगंजमा विशाल र्‍याली तथा कोणसभा आयोजना गरेको छ। संघका केन्द्रीय अध्यक्ष जनकलाल शाहको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्थानीय नागरिक, युवा, विद्यार्थी तथा विभिन्न संघ–संस्थाका प्रतिनिधिहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

र्‍याली वीरगंजको घण्टाघर चोकबाट सुरु भई माइस्थान, महाविरस्थान, आदर्शनगर, अलखियामठ, पुरानो बसपार्क र घडिअर्वा पोखरी हुँदै पुनः घण्टाघरमा पुगेर कोणसभामा परिणत भएको थियो। र्‍यालीका क्रममा सहभागीहरूले ढोल–बाजासहित “राजा आउ देश बचाउ”, “हिन्दु राष्ट्र कायम गर”, “धर्मनिरपेक्षता खारेज गर”, “संघीयता खारेज गर” र “गणतन्त्र धोका हो” जस्ता नाराहरू लगाएका थिए।

कोणसभालाई सम्बोधन गर्दै केन्द्रीय अध्यक्ष जनकलाल शाहले गणतन्त्र जनताको माग नभई नेताहरूको स्वार्थबाट आएको दाबी गरे। उनले गणतन्त्र स्थापनापछि देश कमजोर बन्दै गएको र विदेशी शक्तिको प्रभाव बढेको आरोप लगाउँदै मुलुक जोगाउन राजसंस्थाको पुनःस्थापना आवश्यक रहेको बताए।

त्यसैगरी जि.बि.स. पर्साका पूर्व सभापति शम्भु प्रसाद चौरसियाले देशको अर्थतन्त्र विदेशी सहयोगमा निर्भर बन्दै गएको आरोप लगाए। उनका अनुसार राजतन्त्र पुनःस्थापित भएमा आर्थिक अवस्था सुधार हुने र युवासहित किसानका लागि रोजगारीका अवसर सिर्जना हुने सम्भावना बढ्नेछ।

कार्यक्रममा विश्व हिन्दु महासंघ नेपालका केन्द्रीय सदस्य पृथ्वी झाले गणतन्त्रपछि देशमा लोकतन्त्र नभई “लुटतन्त्र” चलेको टिप्पणी गरे। उनले धर्मनिरपेक्षता लागू गरिएपछि समाजमा धार्मिक द्वन्द्व बढेको दाबी गर्दै हिन्दु राष्ट्र र राजसंस्थाको आवश्यकता औँल्याए।

कार्यक्रममा नेपाल राष्ट्रवाद संघ पर्सा जिल्ला अध्यक्ष संगीता देवी शाह, उमाशंकर प्रसाद, शम्भु प्रसाद चौरसिया, सन्तोष गुप्ता, विष्णु कुमार दास, पवन प्रसाद साह, चुलाइ मियाँ, विरेन्द्र साह, राधाकृष्ण चौहान, मदन ठाकुर, हरेराम रौनियार, धुरेन्द्र पटेल, उदित सहनी, दिपेन्द्र रौनियार, बिरेन्द्र थापा, रामनारायण साह, शिवशंकर साह, अच्छेलाल साह, राजेश पटेल, प्रभु साहलगायतको सहभागिता रहेको थियो।

वक्ताहरूले राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको योगदान स्मरण गर्दै राष्ट्रिय एकता, स्वाधीनता, धर्म–संस्कृतिको संरक्षण तथा देशको भविष्यका लागि सबै नेपाली एकजुट हुनुपर्नेमा जोड दिएका थिए। नेपाल राष्ट्रवाद संघले वीरगंजमा आयोजित कार्यक्रमले पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको महत्वलाई स्थानीय स्तरमा प्रभावकारी रूपमा उजागर गरेको जनाएको छ।