जिराभवानी, पर्सा । पर्सा जिल्लाको ठोरी गाउँपालिका–२ मा अवस्थित ठोरी एकेडेमीले तीनदिने खेल उत्सव भव्य रूपमा सम्पन्न गरेको छ। पुस २५ गते ठोरी गाउँपालिकाका अध्यक्ष लालबहादुर श्रेष्ठले उद्घाटन गर्नुभएको खेल उत्सवको समापन समारोह निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याप्सन) पर्सा जिल्ला अध्यक्ष सरोजप्रसाद चौधरीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो।

ठोरी एकेडेमीका प्रधानाध्यापक सुरेश पन्तका अनुसार विद्यालयका चारवटा हाउसबीच तीन दिनसम्म विभिन्न खेल विधामा प्रतिस्पर्धा गराइएको थियो। खेल उत्सवअन्तर्गत छात्र–छात्राबीच एथलेटिक्स, सटपुट, ज्याभ्लिन थ्रो, फुटबल, डोरी तान्ने लगायतका २३ वटा खेल आयोजना गरिएको थियो।

अन्तरहाउस प्रतिस्पर्धामा रेड हाउसले ४५ अंक प्राप्त गर्दै प्रथम स्थान हासिल गरेको छ भने ४४ अंकसहित ब्लु हाउस द्वितीय भएको छ। यस्तै ३२ अंकसहित ग्रिन हाउस तृतीय हुँदा यल्लो हाउस सान्त्वनामा सीमित भएको विद्यालयले जनाएको छ।

समापन समारोहमा प्रमुख अतिथि चौधरीले विजेता तथा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडी विद्यार्थीहरूलाई शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गर्नुभएको थियो। उद्घाटन समारोहका क्रममा उत्कृष्ट मार्चपास प्रदर्शन गरेको ग्रिन हाउसलाई छुट्टै शिल्ड प्रदान गरिएको पनि प्रधानाध्यापक पन्तले जानकारी दिनुभयो।

समापन कार्यक्रममा ठोरी गाउँपालिका–२ का वडा अध्यक्ष अमृत कृष्ण सापकोटा, प्याप्सनका केन्द्रीय सदस्य छेडुप लामा लगायतका अतिथिहरूले मन्तव्य व्यक्त गर्दै खेलकुदले विद्यार्थीको शारीरिक, मानसिक र अनुशासन विकासमा महत्वपूर्ण भूमिका खेल्ने बताए।

ठोरी एकेडेमीका प्रधानाध्यापक सुरेश पन्तको अध्यक्षतामा सम्पन्न कार्यक्रममा विद्यालयका खेल संयोजक तनुजा जोगीले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो भने कार्यक्रमको सहजीकरण शिक्षक भुपेश पन्तले गर्नुभएको थियो।