पर्सा । पर्सा जिल्लाका ग्रामीण भेगहरू तथा पर्सा राष्ट्रिय निकुञ्ज र वन क्षेत्रसँग जोडिएका गाउँहरूमा जंगली जनावरको आतंक दिनप्रतिदिन बढ्दै गएको छ। जंगली हातीसहित विभिन्न जनावरले रातको समयमा खेतबालीमा प्रवेश गरी गहुँ, सुर्ती, तोरी लगायतका बालीहरू नष्ट गर्न थालेपछि स्थानीय किसानहरू गम्भीर चिन्तामा परेका छन्।

विशेषगरी पटेर्वा सुगौली गाउँपालिका–१ का भाथा, रामभैरी, मलोली टाँडी, गदियानी टोल, कञ्चनपुर बैरिया, पर्सागढी नगरपालिका–१ का मानवा, कोईलाभार, पशुपतिनगर, वडा नं.–२ का छटवनी टाँडी, वडा नं.–३ का बढनिहार, झुलिटार, झाब्राहा, सखुवा प्रसौनी गाउँपालिका–१, जिराभवानी गाउँपालिका–१ शान्तिटोल, वडा नं.–५ हरैया, सखुवनिया तथा ठोरी गाउँपालिका अन्तर्गत गडुवालाईन, रामनगर लगायतका क्षेत्रमा राति जंगली जनावरको गतिविधि बढेका कारण किसानहरू त्रसित बनेका छन्।

पटेर्वा सुगौली गाउँपालिका–१ का स्थानीय किसान लालबहादुर यादवका अनुसार किसानहरू सधैं पीडामा रहेका छन्। “बाली लगाउनु मात्र होइन, ज्यानको सुरक्षासमेत असुरक्षित भएको छ। जंगल नजिकै रहेका खेतका कारण सधैं चिन्तामै रहनुपर्छ। बाली जोगाउन रातभर खेतमै पहरेदारी गर्नु परेको छ, नत्र हाम्रो बाली बच्छ कि बच्दैन भन्ने कुनै निश्चितता हुँदैन,” यादवले बताए।

यसैबीच नेपाल पत्रकार महासंघ पर्सा शाखाका सदस्य तथा पर्सागढीका स्थानीय पत्रकार बलिराम शुक्लाले जंगली जनावरको समस्याबारे पटक–पटक आवाज उठाइए पनि सरोकारवाला निकायबाट प्रभावकारी उपाय नअपनाइएको गुनासो गरे। केही समयअघि बाघको आक्रमणसमेत भएको स्मरण गराउँदै उनले जंगलमा जाँदा वा जंगल छेउछाउ बसोबास गर्नेहरूले विशेष सावधानी अपनाउन सबैलाई आग्रह गरे।

जंगली जनावरको आतंकका कारण किसानहरूले लगाएको बाली मात्र होइन, दैनिकी र जीविकोपार्जन नै जोखिममा परेको स्थानीयको भनाइ छ।