पर्सागढी, २८ पुस । पर्सागढी युवा स्पोर्ट्स क्लब बडनिहारको आयोजनामा बडनिहार खेलमैदानमा सम्पन्न पाँचौँ नकआउट फुटबल प्रतियोगिताको उपाधि पर्साराईडर फुटबल क्लब खजुरियाले हात पारेको छ। आइतबार सम्पन्न फाइनल खेलमा पर्साराईडरले नमोबुद्ध युवा क्लब झाब्राहालाई ३–१ गोल अन्तरले पराजित गर्दै प्रतियोगिताको विजेता बनेको हो।

खेलको पहिलो हाफमा पर्साराईडर फुटबल क्लबका जर्सी नम्बर १२ का सागर चौधरीले पहिलो गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए। दोस्रो हाफमा जर्सी नम्बर १० का सागर चौधरीले दोस्रो गोल थपे भने पर्साराईडरकै जर्सी नम्बर १२ का विक्रम लामाले तेस्रो गोल गर्दै जित सुनिश्चित गरे। खेलको अन्तिम समयमा नमोबुद्ध युवा क्लब झाब्राहाका जर्सी नम्बर १० का उमेश तामाङले सान्त्वना गोल गरेका थिए।

फाइनल खेलका प्रमुख अतिथि पर्सागढी नगरपालिकाका नगरप्रमुख गोकर्ण पाठकले विजेता पर्साराईडर फुटबल क्लब खजुरियालाई नगद ३० हजार रुपैयाँ तथा उपविजेता नमोबुद्ध युवा क्लब झाब्राहालाई नगद २० हजार रुपैयाँसहित शिल्ड र मेडल प्रदान गर्नुभएको थियो।

पर्सागढी युवा स्पोर्ट्स क्लब बडनिहारका अध्यक्ष राम थापाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नगरप्रमुख पाठकले खेलकुदले गाउँ–ठाउँलाई देश–विदेशमा चिनाउने महत्वपूर्ण माध्यम भएको उल्लेख गर्दै खेल क्षेत्रको विकासका लागि नगरपालिका सधैं तत्पर रहेको बताए। पर्सागढी क्षेत्रका खेलाडीहरू राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरसम्म पुग्न सफल भएकोमा गर्व लागेको उनले बताए।

कार्यक्रममा सञ्चारकर्मी बलिराम शुक्लालगायतलाई मायाको चिनोसहित सम्मान गरिएको थियो। कार्यक्रमको स्वागत मन्तव्य खुमराज ढकालले राख्नुभएको थियो भने कार्यक्रमको सहजीकरण बलिराम शुक्लाले गर्नुभएको थियो।