पर्सा,२८ पुस — बाराको सिम्रौनगढ नगरपालिकामा कार्यरत सिम्रौनगढ नगरपालिकामा कर्मचारीमाथि दुर्व्यवहारको आरोप, सुरक्षाको माग गर्दै अनिश्चितकालीन सेवा ठप्पकर्मचारीहरूले कार्यालय परिसरमै कर्मचारीमाथि दुर्व्यवहार भएको घटनाप्रति गम्भीर आपत्ति जनाउँदै, कर्मचारीको सुरक्षा सुनिश्चित नभएसम्मका लागि अनिश्चितकालीन रूपमा सेवा प्रवाह स्थगित गर्ने घोषणा गरेका छन्।

कर्मचारी परिवारद्वारा जारी गरिएको प्रेस विज्ञप्तिअनुसार सिम्रौनगढ नगरपालिकाकी उपप्रमुख नजमु शेहरले प्रमुख प्रशासकीय अधिकृत विरबहादुर साह लहेरामाथि कार्यालय परिसरमै दुर्व्यवहार गरेको आरोप लगाइएको छ। उक्त घटनाले सार्वजनिक सेवामा समर्पित कर्मचारीहरूको गरिमा, मर्यादा र सुरक्षामाथि प्रत्यक्ष आघात पुगेको विज्ञप्तिमा उल्लेख गरिएको छ।

विज्ञप्तिमा कार्यालयजस्तो जिम्मेवार र संवेदनशील स्थानभित्रै कर्मचारीमाथि भएको व्यवहार अत्यन्तै निन्दनीय र आपत्तिजनक रहेको उल्लेख गर्दै यसले सुरक्षित, सम्मानजनक र मर्यादित कार्य वातावरणमाथि गम्भीर प्रश्न उठाएको जनाइएको छ। यस्ता गतिविधिले कर्मचारीको मनोबल कमजोर बनाउनुका साथै सार्वजनिक सेवा प्रवाहमा नकारात्मक असर पार्ने कर्मचारी परिवारको ठहर छ।

घटनाको निष्पक्ष र पारदर्शी छानबिन गरी दोषीमाथि कडा कानुनी कारबाही गर्न सम्बन्धित निकायसँग कर्मचारी परिवारले जोडदार माग गरेको छ। साथै, भविष्यमा यस्ता घटना दोहोरिन नदिन स्पष्ट नीति, व्यवहारिक सुरक्षा व्यवस्था र कार्यस्थलमै कर्मचारीको सम्मान सुनिश्चित गर्नुपर्ने आवश्यकता पनि औंल्याइएको छ।

कर्मचारीहरूको सुरक्षा, सम्मान र सुरक्षित कार्य वातावरण सुनिश्चित नभएसम्म सिम्रौनगढ नगरपालिकाअन्तर्गतका सम्पूर्ण कार्यालयहरू, शैक्षिक संस्थासहित अत्यावश्यक सेवाबाहेकका सबै सेवा अनिश्चितकालीन रूपमा स्थगित गर्ने निर्णय गरिएको विज्ञप्तिमा उल्लेख छ। सेवा ठप्प हुँदा सर्वसाधारणले भोग्नुपर्ने असुविधाप्रति दुख व्यक्त गर्दै, समस्याको दीर्घकालीन समाधानका लागि सबै पक्ष गम्भीर बन्नुपर्ने कर्मचारी परिवारको आग्रह छ।

घटनाबारे नगरपालिकाका सम्बन्धित निकाय तथा राजनीतिक नेतृत्वको आधिकारिक प्रतिक्रिया आउन बाँकी रहेको छ।