नरेश यादव पर्सागढी, २९ पुस। पर्साको जिराभवानी गाउँपालिका वडा नं. १ गम्हरीयामा बसोबास गर्ने वृद्धवृद्धा, अपाङ्ग, साधु–सन्त, एकल महिला तथा सीमान्तकृत समुदायका असहाय व्यक्तिहरूलाई चिसो मौसमको प्रभावबाट जोगाउन न्यानो कम्बल वितरण गरिएको छ।

सामाजिक सेवामा सक्रिय रामाकान्त अग्रवालको पूर्ण आर्थिक सहयोग तथा उपकार सेवा नेपालको सहकार्यमा १०० जना लाभग्राहीलाई न्यानो कम्बल उपलब्ध गराइएको हो। चिसो बढ्दै गएकाले कमजोर वर्गको स्वास्थ्य र सुरक्षालाई मध्यनजर गर्दै उक्त सहयोग कार्यक्रम सञ्चालन गरिएको उपकार सेवा नेपालकी अध्यक्ष विद्या कुमारी सरावगीले जानकारी दिनुभयो।

न्यानो कम्बल हस्तान्तरण कार्यक्रम जिराभवानी गाउँपालिका वडा नं. १ का वडा अध्यक्ष रामशरण खवासको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो। कार्यक्रममा संस्थाकी संरक्षक पद्मा देवी सरावगी, सदस्यहरू सुमन बगेडीया, रामाकान्त अग्रवालका प्रतिनिधि रेनु सर्राफ र नेहा सर्राफ, सामाजिक अभियन्ता प्रकाश थारू, बोर्डर आउट पोस्ट महादेवपट्टीका कार्यालय प्रमुख शस्त्र प्रहरी निरीक्षक हरि चन्द्र खड्का तथा प्रहरी चौकी महादेवपट्टीका प्रमुख प्रहरी सहायक निरीक्षक अवधलाल साहको उपस्थिति रहेको थियो। अतिथिहरूले संयुक्त रूपमा १०० थान कम्बल वितरण गर्नुभएको हो। कार्यक्रममा स्थानीय भद्रभलाद्मीको पनि उल्लेखनीय सहभागिता रहेको थियो।

कार्यक्रममा बोल्दै अध्यक्ष सरावगीले जाडोको समयमा समाजका कमजोर वर्गलाई न्यानोपन प्रदान गर्नु संस्थाको कर्तव्य भएको उल्लेख गर्दै आगामी दिनमा पनि यस्ता सामाजिक सेवाका कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्नुभयो।

वडा अध्यक्ष खवासले उपकार सेवा नेपालले यसअघि पनि जिराभवानी गाउँपालिका वडा नं. १ मा आगलागीपीडित, विपन्न परिवार तथा मठ–मन्दिरहरूमा निरन्तर सहयोग गर्दै आएको जानकारी दिनुभयो। साथै संस्थाले यसअघि अपाङ्गता भएका ४ जना व्यक्तिलाई ह्वीलचेयर समेत प्रदान गरेको उहाँले स्मरण गराउनुभयो।

चिसो बढ्दै गएको यस समयमा प्राप्त न्यानो कम्बलले असहाय तथा विपन्न समुदायका व्यक्तिहरूलाई उल्लेखनीय राहत पुग्ने विश्वास लिइएको छ। सामाजिक अभियन्ता प्रकाश थारूले यस्ता मानवीय कार्यले समाजमा सकारात्मक परिवर्तन ल्याउने भन्दै सबैलाई सहयोगी हात फैलाउन आग्रह गर्नुभयो।