पर्सा,२९ पुस।विभिन्न राजनीतिक दलका समानुपातिक तर्फका उम्मेदवारमध्ये १६४ जनाले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन् । निर्वाचन आयोगका सूचना अधिकारी सुमन घिमिरेका अनुसार ती उम्मेदवारहरूले नाम फिर्ता लिएका हुन् । फिर्ता लिएका उम्मेदवारको स्थानमा नयाँ नाम सिफारिस गर्न आयोगले सम्बन्धित दललाई आग्रह गरेको छ ।

आयोग स्रोतका अनुसार लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) बाट ७८ जना र जनता समाजवादी पार्टी नेपाल (जसपा) बाट २१ जनाले उम्मेदवारी फिर्ता लिएका छन् । यी दुई दलबीच एकता भइसकेकाले लोसपाका उम्मेदवार फिर्ता लिएर जसपाको सूचीमा समावेश गरिएको जनाइएको छ ।

यसैगरी जनमत पार्टीका २० जना, राष्ट्रिय प्रजातन्त्र पार्टीका १२ जना, जनादेश पार्टी नेपालका ६ जना, नेकपा एमालेका ५ जना, नेपाल कम्युनिस्ट पार्टी (माओवादी)का ४ जना र राष्ट्र निर्माण दल नेपालका ४ जनाले उम्मेदवारी फिर्ता लिएका छन् ।

उन्नत लोकतान्त्रिक पार्टी, नेपाली कम्युनिस्ट पार्टी, नेपाली कांग्रेस र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट समानुपातिक सूचीमा रहेका २–२ जनाले नाम फिर्ता लिएका छन् । त्यस्तै गतिशील लोकतान्त्रिक पार्टी, नागरिक उन्मुक्ति पार्टी, नेपाल जनता पार्टी, प्रगतिशील लोकतान्त्रिक पार्टी, संघीय लोकतान्त्रिक पार्टी र संयुक्त नागरिक पार्टीबाट एक–एक जनाले उम्मेदवारी फिर्ता लिएका छन् ।

उम्मेदवारी फिर्ता भएका स्थानमा सम्बन्धित दलले नयाँ व्यक्तिको नाम निर्वाचन आयोगमा पठाउनेछन् । आयोगले नयाँ नामहरू समेत समेटेर आगामी माघ ४ गते बन्दसूची सार्वजनिक गर्ने जनाएको छ । प्रकाशित सूचीमाथि माघ ५ देखि माघ १० गतेसम्म दाबी–विरोध गर्न सकिनेछ ।

दाबी–विरोधमाथि आयोगले माघ ११ देखि माघ १७ गतेसम्म अध्ययन गर्नेछ । यदि सूचीबाट कसैको नाम हटाउनुपर्ने भए माघ १९ गते सूचना प्रकाशन गरिने कार्यतालिका छ । अन्ततः माघ २० गते समानुपातिक उम्मेदवारको अन्तिम सूची सार्वजनिक हुनेछ ।

प्रतिनिधिसभा सदस्यको निर्वाचन आगामी फागुन २१ गते हुँदैछ । २७५ सदस्यीय प्रतिनिधिसभामध्ये ११० जना समानुपातिक र १६५ जना प्रत्यक्ष निर्वाचन प्रणालीबाट निर्वाचित हुनेछन् । प्रत्यक्ष तर्फको उम्मेदवारी मनोनयन दर्ता भने माघ ६ गते हुने निर्वाचन आयोगले जनाएको छ ।