पर्सा,२९ पुस – करिब डेढ वर्षअघि चितवनको सिमलतालबाट त्रिशूली नदीमा पहिरोले बगाएर बेपत्ता भएका दुई बसमध्ये एउटा बस फेला परेको छ।

२०८१ असार २८ गते काठमाण्डौबाट गौरतर्फ जाँदै गरेको प्रदेश ०३–००१ ख २४९५ नम्बरको गणपति यातायातको बस र वीरगञ्जबाट काठमाण्डौतर्फ आउँदै गरेको बागमती प्रदेश ०३–००६ ख १५१६ नम्बरको एञ्जल डिलक्स बस सिमलतालमा आएको पहिरोले त्रिशूली नदीमा खसेका थिए। तीमध्ये गणपति यातायातको बस भेटिएको सशस्त्र प्रहरी बलले पुष्टि गरेको छ।

आइतवार बिहान नदी किनारमा बसको केही भाग देखिएपछि उत्खनन कार्य सुरु गरिएको थियो। त्यसपछि आज सशस्त्र प्रहरी बलको टोलीले उक्त बस गणपति डिलक्स नै भएको पुष्टि गरेको हो।

घटनाका बेला दुवै बसमा ६५ जना यात्रु सवार थिए। तीमध्ये गणपति यातायातको बसमा रहेका तीन जना यात्रुले पौडिएर ज्यान जोगाउन सफल भएका थिए।

बस तथा यात्रुहरूको खोजीका लागि त्यसबेला नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीका गोताखोरसहित करिब पाँच सय सुरक्षाकर्मी परिचालन गरिएको थियो। साथै वाटर ड्रोन (सोनार) प्रयोग गरिएको थियो भने भारतबाट समेत उच्च प्रविधियुक्त गोताखोर टोली बोलाइएको थियो। यति प्रयास हुँदाहुँदै पनि लामो समयसम्म बस फेला पर्न सकेको थिएन।

एञ्जल डिलक्स बस भने अझै पनि बेपत्ता नै रहेको छ।