काठमाडौं,३० पुस : नेपाली कांग्रेसको सम्भावित विभाजन रोक्ने उद्देश्यले पार्टी सभापति शेरबहादुर देउवा र महामन्त्रीद्वय गगन थापा तथा विश्वप्रकाश शर्माबीच निर्णायक वार्ता सुरु भएको छ। देउवाको निवास महाराजगञ्जमा भइरहेको यो छलफललाई पार्टी एकताको अन्तिम प्रयासका रूपमा हेरिएको छ।

विशेष महाधिवेशन पक्ष र संस्थापनबीच यसअघि विभिन्न चरणमा भएका वार्ता निष्कर्षविहीन भएपछि सभापति देउवा र महामन्त्रीद्वय प्रत्यक्ष संवादमा जुटेका हुन्। महामन्त्रीद्वय वान–टु–वान वार्ताका लागि पुगे पनि देउवा निवासमा संस्थापन र शेखर कोइराला पक्षका नेताहरूको समेत उपस्थिती रहेको छ।

वार्तामा कार्यवाहक सभापति पूर्णबहादुर खड्का, बालकृष्ण खाण, दीपक खड्का, रमेश लेखक, प्रकाशशरण महत र डा. मिनेन्द्र रिजाल सहभागी छन्।

विशेष महाधिवेशन पक्षधरहरूले यसै वार्तालाई अन्तिम अवसरको रूपमा लिँदै आएका छन्। महामन्त्रीद्वय र सभापति देउवाबीच सहमति नभए निर्वाचन प्रक्रिया अगाडि बढाइने विशेष महाधिवेशनको नेतृत्व गरिरहेका नेता गुरु घिमिरेले जानकारी दिए।

उनले भने, “महाधिवेशनको समय लम्ब्याएर पटक–पटक वार्ता गर्‍यौं। अस्ति, हिजो दिउँसो, साँझ र रातिसम्म छलफल भयो तर कुनै निष्कर्ष निस्किएन। सहमति हुन्छ कि भनेर हामीले प्रक्रिया अघि बढाउन ढिलाइ गरेका थियौँ। तर विशेष महाधिवेशन प्रतिनिधिका माग पूरा गर्न संस्थापन पक्ष तयार भएन।”

घिमिरेका अनुसार, अन्तिम प्रयासस्वरूप सभापति र महामन्त्रीबीचको छलफलपछि सहमति भए एकता सम्भव हुनेछ, अन्यथा निर्वाचन प्रक्रिया र नयाँ नेतृत्व चयन रोकिने अवस्था नरहने उनले बताए। “एकता हुने सम्भावना कम देखिन्छ,” उनले भने।

यसैबीच, सहमतिको अन्तिम प्रयासस्वरूप आसन्न निर्वाचनको टिकटमा कार्यवाहक सभापति पूर्णबहादुर खड्काको हस्ताक्षर रहने व्यवस्था गर्न संस्थापन पक्ष केही लचक देखिएको बताइएको छ।

तर संस्थापन पक्षले विशेष महाधिवेशन पक्षधरहरूसँग महाधिवेशन प्रतिनिधिको बहुमत नरहेको दाबी गर्दै सबै माग स्वीकार गर्न आवश्यक नरहेको अडान लिँदै आएको छ।

नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज बिहान केन्द्रीय कार्यालय बी.पी. स्मृति भवन, बी.पी. नगरमा बोलाइएको छ। मंगलबार बसेको बैठकमा महामन्त्रीद्वयसहित विशेष महाधिवेशन पक्षधर केन्द्रीय सदस्यहरू अनुपस्थित थिए।

बुधबारको वार्तामा सहमतिको बिन्दु नजुटे संस्थापनले गर्ने कारबाही र विशेष महाधिवेशन पक्षधरले अघि बढाउने निर्वाचन प्रक्रियाले पार्टी विभाजनको बाटो खोल्ने संकेत देखिएको छ।