पर्सा,३० पुस। काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले पदबाट राजीनामा दिएर राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा आबद्ध हुने तयारी गरेका छन्। रास्वपा मधेस प्रदेश सभापति तपेश्वर यादवका अनुसार बालेन शाहले माघ ४ गते मेयर पदबाट औपचारिक रूपमा राजीनामा दिने कार्यक्रम तय भएको छ।

राजीनामापछि माघ ५ गते बालेन शाह रास्वपा सभापति रवि लामिछानेसँगै जनकपुर पुग्ने कार्यक्रम रहेको यादवले जानकारी दिए। सो अवसरमा रास्वपा मधेस प्रदेश समितिले जनकपुरमा विस्तारित भेला आयोजना गर्ने तयारी गरेको छ।

उक्त भेलामा मधेस प्रदेशका पदाधिकारीहरू तथा आठै जिल्लाका जिल्ला सभापतिहरूको सहभागिता रहनेछ। भेलामा प्रदेश तथा जिल्लास्तरमा पार्टीको संगठनात्मक अवस्था, ३२ वटा निर्वाचन क्षेत्रमा पार्टीको उपस्थितिलगायतका विषयमा छलफल हुने यादवले बताए।

रास्वपा प्रवक्ता मनिष झाले पनि बालेन शाहको जनकपुर भ्रमणको तयारी भइरहेको पुष्टि गरेका छन्। उनका अनुसार कार्यक्रम औपचारिक र अनौपचारिक दुवै खालका हुनेछन्।

बालेन शाहको पुर्ख्यौली घर महोत्तरीको निर्वाचन क्षेत्र नम्बर ३ अन्तर्गत पर्ने एकडारा गाउँपालिकामा रहेको बताइएको छ। हाल सो घर भाडामा दिइएको र प्रशासनिक प्रयोजनका लागि प्रयोग भइरहेको स्रोतको भनाइ छ।

प्रदेश सभापति यादवका अनुसार बालेन शाहको भ्रमण सीमित कार्यक्रमका रूपमा आयोजना गरिनेछ, जहाँ उनले स्थानीय नेता तथा कार्यकर्तासँग भेटघाट र छलफल गर्नेछन्। यस क्रममा मधेस प्रदेशबाटै निर्वाचन लड्ने सम्भावनाबारे उनले पार्टीसँग आफ्ना धारणा राख्ने अपेक्षा गरिएको छ।

यसका साथै जनकपुरमै एक सभाको पनि तयारी भइरहेको छ, जहाँ बालेन शाहसहित पार्टीका शीर्ष नेताहरूले सम्बोधन गर्ने कार्यक्रम तय भएको छ। स्रोतका अनुसार बालेन शाहले झापा–५ बाट उम्मेदवारी दिने तयारीसमेत गरिरहेको चर्चा पनि चलेको छ।