पर्सा, १ माघ । नेपाल प्रहरी श्रीमती संघले नेपाल प्रहरीको सहयोगमा पर्साको पोखरिया नगरपालिकामा न्यानो कम्बल वितरण कार्यक्रम सम्पन्न गरेको छ। पोखरिया नगरपालिका–स्थित जिल्ला उच्चाङ्गल रामदेव कलवार उच्च माध्यमिक विद्यालयमा आयोजित कार्यक्रममा २०० जना दलित, गरिब, अति विपन्न तथा अशक्त महिलालाई न्यानो कम्बल वितरण गरिएको हो।

कार्यक्रममा नेपाल प्रहरी श्रीमती संघकी अध्यक्ष नबिना खत्री कार्की प्रमुख अतिथिका रूपमा सहभागी हुनुहुन्थ्यो। बढ्दो चिसोलाई मध्यनजर गर्दै गरिब तथा विपन्न परिवारलाई राहत पुर्‍याउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको अध्यक्ष कार्कीले बताउनुभयो। विशिष्ट अतिथिका रूपमा नेपाल प्रहरीका प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्की, मधेस प्रदेश प्रहरी नायब महानिरीक्षक गोविन्द थपलिया, जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी उपरीक्षक सुदिपराज पाठक लगायतले कम्बल वितरण गर्नुभएको थियो।

पोखरिया नगरपालिकाका मेयर प्रद्युमन प्रसाद चौहानको अध्यक्षतामा सम्पन्न कार्यक्रममा पूर्व मेयर दिपनारायण प्रसाद रौनियार, उपमेयर रुबी ठाकुर, इलाका प्रहरी कार्यालय पोखरियाका प्रहरी निरीक्षक प्रदीप पौडेल, वडा अध्यक्ष लक्ष्मण साह कानु, समाजसेवी तथा स्थानीयको उल्लेखनीय सहभागिता रहेको थियो।