जिराभवानी, पर्सा । पर्साको जिराभवानी गाउँपालिका वडा नम्बर–३ नौकाटोल चौकमा खिचडी (माघी) महोत्सव बिहीबार भव्य रूपमा सम्पन्न भएको छ। आदिवासी थारु समुदायको नयाँ वर्ष थारु संवत् २६५० को अवसरमा जिराभवानी गाउँपालिकाको प्रायोजन तथा वडा नम्बर–३ नौकाटोल युवा समाजको आयोजनामा कार्यक्रम सम्पन्न भएको हो।

जिराभवानी गाउँपालिका वडा नम्बर–३ का वडा अध्यक्ष सुरज राय थारुको सभापतित्वमा सम्पन्न कार्यक्रमको उद्घाटन मधेश प्रदेश सरकारका वन तथा वातावरण मन्त्री तथा प्रदेश सांसद शंकर प्रसाद चौधरीले गर्नुभएको थियो। कार्यक्रममा गाउँपालिका अध्यक्ष अन्जोज चौधरी, उपाध्यक्ष रेखा चौधरी, वडा नम्बर १ देखि ५ सम्मका जनप्रतिनिधि, समाजसेवी तथा स्थानीयवासीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

महोत्सवमा थारु समुदायको परम्परागत संस्कृति, भाषा, पहिरन र पहिचान संरक्षण गर्ने उद्देश्यले विभिन्न सांस्कृतिक कार्यक्रम प्रस्तुत गरिएका थिए। परम्परागत माछा मार्ने उपकरण, घरेलु सामग्री तथा थारु समुदायसँग जोडिएका ऐतिहासिक वस्तुहरू प्रदर्शनीका रूपमा राखिएका थिए। साथै समाजमा देखिएका विकृति र विसङ्गति न्यूनीकरणका सन्देश बोकेका गीत तथा नाटकहरू पनि प्रस्तुत गरिएका थिए।

कार्यक्रममा थारु खानाका परिकारअन्तर्गत माछा, घोंगी, परेवा मासु, हाँसको मासुलगायत परम्परागत खानाको प्रदर्शनी गरिएको थियो। महोत्सवमा राष्ट्रिय थारु कलाकार पर्सा जिल्लाकी ममता चौधरी र मुस्कान चौधरीको सांगीतिक प्रस्तुति तथा विभिन्न विद्यालयका विद्यार्थीहरूको नृत्यले दर्शकको मन जितेको थियो।

यसै अवसरमा पर्सा जिल्लाका अन्य स्थानहरू—वीरगंजस्थित स्वीमिङ पुल क्षेत्र, पर्सागढी नगरपालिकाको बढनिहार, सखुवाप्रसौनी गाउँपालिकाको पंचगावालगायत क्षेत्रमा पनि माघी तथा खिचडी महोत्सव विविध कार्यक्रमसहित मनाइएको छ।

स्थानीयवासीहरूका अनुसार यस्ता महोत्सवले थारु समुदायको सांस्कृतिक पहिचान जोगाउनुका साथै आपसी सद्भाव, सामाजिक एकता र सांस्कृतिक पर्यटन प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुर्‍याउँदै आएका छन्।