पर्सा, २ माघ । प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर–४ अन्तर्गत निर्वाचन प्रक्रिया प्रभावकारी रूपमा सञ्चालन गर्न धोबीनी गाउँपालिका–४ लंगडीमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ।

आसन्न प्रतिनिधि सभा निर्वाचनलाई निष्पक्ष, शान्तिपूर्ण, स्वतन्त्र तथा पारदर्शी रूपमा सम्पन्न गराउने उद्देश्यले उक्त कार्यालय स्थापना गरिएको जनाइएको छ। कार्यालय स्थापनासँगै उम्मेदवारी दर्ता, मतदाता नामावलीसम्बन्धी समन्वय, निर्वाचनसम्बन्धी प्रशासनिक तथा व्यवस्थापकीय कार्यहरू व्यवस्थित ढंगले सञ्चालन गरिनेछ।

पर्साका मुख्य निर्वाचन अधिकृत गायत्री प्रसाद रेग्मीका अनुसार कार्यालय स्थापना भएसँगै निर्वाचनसम्बन्धी सम्पूर्ण गतिविधिहरू समयमै, सहज र प्रभावकारी रूपमा अघि बढ्ने विश्वास लिइएको छ। निर्वाचन अधिकृतको कार्यालयले स्थानीय प्रशासन, सुरक्षा निकाय, राजनीतिक दल, उम्मेदवार तथा अन्य सरोकारवाला निकायसँग आवश्यक समन्वय गर्दै निर्वाचन आयोगले तोकेको कार्यतालिकाअनुसार निर्वाचन प्रक्रिया अघि बढाउने जानकारी दिएको छ।

स्थानीय तहमै निर्वाचन व्यवस्थापन सुदृढ भएसँगै मतदाता सहभागिता बढ्ने र निर्वाचन प्रक्रिया अझै विश्वसनीय, व्यवस्थित तथा प्रभावकारी हुने अपेक्षा गरिएको छ।