पर्सा, ३ माघ । पर्सा जिल्लाको पटेर्वा सुगौली र जिराभवानी गाउँपालिकामा नवनिर्मित कृषि तथा पशुपंक्षी सेवा केन्द्र भवनहरूको भव्य समारोहका बीच समुद्घाटन गरिएको छ। संघीय कृषि तथा पशुपंक्षी विकास मन्त्री डाक्टर मदनप्रसाद परियारले शनिबार दुवै गाउँपालिकामा आयोजित छुट्टाछुट्टै कार्यक्रममा रिबन काटेर भवनको उद्घाटन गर्नुभएको हो।

संघीय कृषि तथा पशुपन्छी विकास मन्त्री डा. मदन प्रसाद परियारले स्थानीय तहमा निर्माण गरिएका कृषि तथा पशुपन्छी सेवा केन्द्रहरू किसानमैत्री सेवा प्रवाहका महत्वपूर्ण आधार भएकाले यस्ता संरचनाबाट किसानले अधिकतम लाभ लिनुपर्नेमा जोड दिएका छन्।

शनिबार पर्सा जिल्लाको पटेर्वा सुगौली र जिराभवानी गाउँपालिकामा निर्माण सम्पन्न आधुनिक कृषि तथा पशुपन्छी सेवा केन्द्र भवनको उद्घाटन तथा हस्तान्तरण समारोहलाई सम्बोधन गर्दै मन्त्री डा. परियारले सरकारी लगानीबाट निर्माण भएका संरचनाहरू प्रयोगविहीन बन्ने प्रवृत्तिप्रति गम्भीर चिन्ता व्यक्त गरे।

उनले भने, “सरकारले करोडौँ रुपैयाँ लगानी गरेर बनाएका भवन तथा संरचना यदि सञ्चालनमा नआए भने त्यो राज्यको स्रोतको दुरुपयोग मात्र होइन, किसानप्रतिको उत्तरदायित्वमा पनि कमजोरी हो।” अब यी सेवा केन्द्रहरू स्थानीय तहले स्वामित्वमा लिइसकेपछि पूर्ण क्षमतामा सञ्चालन गर्दै किसानलाई प्रत्यक्ष सेवा दिनुपर्ने उनको भनाइ थियो।

मन्त्री परियारले कृषि तथा पशुपन्छी सेवा केन्द्रमार्फत किसानले माटो परीक्षण, बीउ परीक्षण, बालीमा देखिने रोगको पहिचान, पशुपन्छीको रगत परीक्षण, रोग निदान तथा समयमै उपचार सेवा प्राप्त गर्न सक्ने बताए। यसले उत्पादन लागत घटाउने, रोगका कारण हुने क्षति न्यूनिकरण गर्ने र कृषकलाई व्यावसायिक खेती तथा पशुपालनतर्फ आकर्षित गर्ने विश्वास व्यक्त गरे।

“जब किसानले आफ्नै पालिकाभित्र वैज्ञानिक र गुणस्तरीय सेवा पाउँछन्, तब उत्पादन र आम्दानी दुवै बढ्छ,” मन्त्री परियारले भने, “यसका लागि जनप्रतिनिधि, कर्मचारी र किसानबीच आपसी समन्वय, प्रतिबद्धता र सक्रियता अत्यन्त जरुरी छ।”

उनका अनुसार देशभर १७१ वटा पालिकामा कृषि तथा पशुपन्छी सेवा केन्द्र परियोजना सञ्चालनमा रहेको छ। यी केन्द्रहरूलाई दीगो र प्रभावकारी बनाउन पालिकाले भवन तथा उपकरणको नियमित मर्मतसम्भार, आवश्यक रसायन तथा सामग्रीको व्यवस्थापन, साथै दक्ष प्राविधिक जनशक्ति परिचालनमा विशेष ध्यान दिनुपर्ने आवश्यकता उनले औँल्याए।

कार्यक्रममा संघीय सरकार अन्तर्गत कृषि तथा पशुपन्छी विकास मन्त्रालयको ग्रामीण उद्यम तथा आर्थिक विकास आयोजनाका निर्देशक डा. चन्द्र प्रसाद रिसालले विश्व बैंकको ऋण सहयोगमा आयोजना देशका ६ प्रदेशका ३५ जिल्लामा सञ्चालन भइरहेको जानकारी दिए। उनका अनुसार १७१ पालिकामध्ये हाल ७४ पालिकामा आयोजना सक्रिय रहेको छ भने मधेश प्रदेशमा मात्र ८४ पालिकामा काम भइरहेको छ। हालसम्म २५ पालिकामा सेवा केन्द्र भवन हस्तान्तरण भइसकेको उनले बताए।

ग्रामीण उद्यम तथा आर्थिक विकास आयोजना, आर्थिक करिडोर कार्यालय बर्दिबास, महोत्तरीको आयोजनामा पटेर्वा सुगौली गाउँपालिकाको परिसरभित्र २ करोड ४० लाख रुपैयाँको लागतमा दुईतले आधुनिक कृषि तथा पशुपन्छी सेवा केन्द्र भवन निर्माण गरिएको हो।


गाउँपालिका अध्यक्ष दिनेश कुमार चौधरीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उक्त भवनमा अत्याधुनिक परीक्षण उपकरण, आवश्यक फर्निचर, अपाङ्गमैत्री तथा महिलामैत्री संरचना रहेको जानकारी गराइयो। साथै पशुपन्छी रोगका कारण मृत्यु भएमा सम्भावित जीवाणु वातावरणमा फैलिन नदिन आधुनिक प्रविधिबाट सुरक्षित रूपमा नष्ट गर्ने व्यवस्था समेत गरिएको छ।

अध्यक्ष चौधरीले उद्घाटन समारोहलाई सम्बोधन गर्दै भने, “आज यो भवन उद्घाटन हुँदा निकै सुखद अनुभूति भएको छ। यसले हाम्रो पालिकाको कृषि क्षेत्रलाई नयाँ दिशा दिनेछ।” उनले थपे, “यस केन्द्रले कृषिमात्र होइन, ग्रामीण उद्यम, स्वरोजगार र आर्थिक समृद्धिमा समेत महत्वपूर्ण टेवा पुर्‍याउनेछ।

उनले यस परियोजनामार्फत गाउँपालिकाभित्रका सम्पूर्ण किसानलाई छिटो, सहज र गुणस्तरीय सेवा उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गर्दै स्थानीय तहले सेवा केन्द्रलाई निरन्तर र प्रभावकारी रूपमा सञ्चालन गर्ने बताए।

कार्यक्रममा गाउँपालिका उपाध्यक्ष ममता महतो, प्रमुख प्रशासकीय अधिकृत प्राण मेहता, पालिकाका पाँचै वडाका वडाध्यक्ष, आर्थिक करिडोर बर्दिबासका प्रमुख राजेश यादव, कृषि अनुसन्धान निर्देशनालय परवानीपुरका प्रमुख विश्वेश्वर प्रसाद यादव, जनप्रतिनिधि, कर्मचारी तथा ठूलो संख्यामा किसानहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

यसैगरी शनिबार नै जिराभवानी गाउँपालिका वडा नं. ३ मा निर्माण सम्पन्न कृषि तथा पशुपन्छी सेवा केन्द्र भवनको उद्घाटन तथा हस्तान्तरण गरिएको छ। जिराभवानी गाउँपालिका अध्यक्ष अनोज चौधरीको सभापतित्वमा सम्पन्न कार्यक्रममा उपाध्यक्ष रेखा चौधरी, प्रमुख प्रशासकीय अधिकृत अमित कुमार गिरी, आर्थिक करिडोर बर्दिबासका प्रमुख राजेश यादव, कृषि अनुसन्धान निर्देशनालय परवानीपुरका प्रमुख बिशेश्वर प्रसाद यादव, जनप्रतिनिधि तथा किसानहरूको सहभागिता रहेको थियो।

स्थानीय तहमा निर्माण भएका यस्ता आधुनिक कृषि तथा पशुपन्छी सेवा केन्द्रहरूले किसानको उत्पादन वृद्धि, आय अभिवृद्धि तथा कृषि र पशुपालनको व्यवसायिक विकासमा दीर्घकालीन र महत्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।