माघ ४,पर्सा। फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभा निर्वाचनका लागि नेकपा एमालेले पर्साका केही निर्वाचन क्षेत्रमा उम्मेदवार टुंगो लगाएको छ। पार्टीले पर्सा निर्वाचन क्षेत्र नम्बर ३ र ४ का उम्मेदवारको औपचारिक घोषणा गरेको हो।

शनिबार साँझ बसेको नेकपा एमाले सचिवालय बैठकले पर्सा क्षेत्र नम्बर ३ बाट प्रमोद जयसवाल र क्षेत्र नम्बर ४ बाट जालिम मियाँलाई उम्मेदवार बनाउने निर्णय गरेको पार्टीले जनाएको छ। बैठकपछि उक्त निर्णय सार्वजनिक गरिएको हो।

यसैबीच, पर्सा–३ बाट उम्मेदवार बन्ने चर्चामा रहेका रुपेश पाण्डे भने शनिबार मात्रै एमाले अध्यक्ष केपी शर्मा ओलीको हातबाट टीका लगाएर औपचारिक रूपमा एमालेमा प्रवेश गरेका थिए। पाण्डेको प्रवेशसँगै उनी उम्मेदवार बन्ने अनुमान गरिएको थियो। तर सचिवालय बैठकले अन्ततः प्रमोद जयसवाललाई नै पर्सा–३ को उम्मेदवार बनाउने निर्णय गरेको हो।

पर्सा क्षेत्र नम्बर १ र २ का हकमा भने अझै उम्मेदवारको टुंगो लाग्न सकेको छैन। ती दुवै क्षेत्रमा उम्मेदवारका विषयमा आन्तरिक छलफल जारी रहेको नेकपा एमालेका नेता लेखराज भट्टले जानकारी दिए। उनका अनुसार ती क्षेत्रका उम्मेदवारको अन्तिम निर्णय पार्टी अध्यक्ष केपी शर्मा ओलीले गर्नेछन्।

नेकपा एमालेले बाँकी क्षेत्रका उम्मेदवारसमेत चाँडै टुंग्याउने तयारी गरिरहेको र निर्वाचनलाई लक्षित गरी संगठनात्मक गतिविधि तीव्र बनाइरहेको जनाएको छ।