काठमाडौँ । नेपाली काँग्रेसभित्रको आधिकारिकता विवादलाई लिएर शेर बहादुर देउवा समूहले सर्वोच्च अदालत जाने निर्णय गरेको छ। निर्वाचन आयोगले गगन पक्षलाई काँग्रेसको आधिकारिकता दिएको निर्णयप्रति असहमति जनाउँदै देउवा समूहले सो निर्णयविरुद्ध कानुनी उपचार खोज्ने निष्कर्ष निकालेको हो।

देउवा समूहका एक नेताका अनुसार काँग्रेसको आधिकारिकता माग्दै आज (आइतबार) सर्वोच्च अदालतमा रिट दायर गर्ने तयारी गरिएको छ। निर्वाचन आयोगको निर्णयले पार्टीभित्र अन्याय भएको ठहर गर्दै उक्त निर्णय बदर गराउन अदालतको ढोका ढक्ढक्याउने निर्णयमा समूह पुगेको जनाइएको छ।

आयोगको निर्णयविरुद्ध कानुनी लडाइँ लड्ने उद्देश्यसहित देउवा समूहको बैठकले यस सम्बन्धी सम्पूर्ण प्रक्रिया अघि बढाउने जिम्मेवारी पूर्ण बहादुर खड्कालाई दिएको छ। समूहले अदालतमार्फत न्याय प्राप्त हुने विश्वास व्यक्त गरेको छ।

नेपाली काँग्रेसको आधिकारिकतासम्बन्धी विवादले राजनीतिक वृत्तमा थप चासो र चर्चा बढाएको छ।