वीरगञ्ज । पर्सा निर्वाचन क्षेत्र नम्बर–३ का युवा नेता रुपेश पाण्डे नेकपा (एमाले) मा प्रवेश गरेको भन्ने चर्चा निराधार भएको एमाले पर्सा जिल्ला इन्चार्ज प्रभु हजराले स्पष्ट पारेका छन्।

निवर्तमान प्रतिनिधिसभा सदस्यसमेत रहेका जिल्ला इन्चार्ज हजराका अनुसार पाण्डेले एमाले अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीसँग शिष्टाचार भेट गरेका थिए। भेटका क्रममा अध्यक्ष ओलीले पाण्डेलाई खादा लगाएर सम्मान गरेका थिए र सोही अवसरमा खिचिएको तस्बिर सामाजिक सञ्जालमा सार्वजनिक भएपछि उनलाई एमाले प्रवेश गराइएको भन्ने गलत प्रचार सुरु भएको उनले बताए।

“अध्यक्ष केपी शर्मा ओलीसँग भेटेर तस्बिर खिच्दैमा पार्टी प्रवेश गरेको ठहर गर्नु गलत हो,” हजराले भने, “रुपेश पाण्डे हालसम्म एमालेमा प्रवेश गरेका छैनन्।”

यस विषयमा स्वयं रुपेश पाण्डेसँग बुझ्दा उनले पनि आफू अहिलेसम्म कुनै पनि राजनीतिक दलमा आबद्ध नभएको स्पष्ट पारेका छन्। पाण्डेका अनुसार अध्यक्ष ओलीले नै भेटका लागि बोलाएका थिए र सोही भेटघाटका क्रममा खिचिएको तस्बिर सामाजिक सञ्जालमा फैलिएपछि पार्टी प्रवेश गरेको भन्ने झुटो हल्ला फैलाइएको हो।

“म अहिले पनि स्वतन्त्र नै छु, कुनै पनि दलमा प्रवेश गरेको छैन,” पाण्डेले भने, “सामान्य भेटघाटको फोटोका आधारमा भ्रम सिर्जना गरिएको छ।”

उनले सामाजिक सञ्जालमा फैलाइएको उक्त प्रचार निराधार भएको बताउँदै राजनीतिक स्वार्थका कारण जानाजानी भ्रम फैलाउने प्रयास भइरहेको आरोप समेत लगाएका छन्।