पर्सा । ठोरी गाउँपालिका वडा नम्बर–५ को आयोजनामा रक्तदान तथा निःशुल्क आँखा शिविर कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रम नेपाल रेडक्रस सोसाइटी पर्सा शाखाको प्राविधिक सहयोग, सुवर्ण युवा समाज तथा नेपाल तामाङ घेदुङ सुवर्णपुरको सहकार्यमा आयोजना गरिएको हो।

वडा नम्बर–५ का वडा अध्यक्ष अष्टबहादुर लोप्चनको सभापतित्वमा सम्पन्न कार्यक्रममा प्रमुख अतिथिका रूपमा ठोरी गाउँपालिका अध्यक्ष तथा विशिष्ट अतिथिका रूपमा उपाध्यक्ष गोकुली कुमारी रेग्मी, वरिष्ठ समाजसेवी लेखमान थापा, सशस्त्र प्रहरी बल गुल्म सुवर्णपुरका डीएसपीलगायत विभिन्न राजनीतिक दलका प्रतिनिधिहरूको सहभागिता रहेको थियो।

निःशुल्क आँखा शिविरको प्राविधिक सहयोग दृष्टि आँखा अस्पताल, वीरगञ्ज ले प्रदान गरेको थियो। शिविरमा ८० जना सेवाग्राहीले आँखा परीक्षण गराएका छन्। त्यस्तै रक्तदान कार्यक्रममा २२ जनाले रक्तदान गर्दै मानवीय सेवामा योगदान पुर्‍याएका थिए।

कार्यक्रममा वक्ताहरूले रक्तदान र निःशुल्क आँखा उपचारजस्ता सामाजिक कार्यक्रमले समुदायको स्वास्थ्य प्रवर्द्धनमा महत्वपूर्ण भूमिका खेल्ने उल्लेख गर्दै यस्ता अभियानलाई निरन्तरता दिनुपर्नेमा जोड दिएका थिए।