पर्सा । पर्सा जिल्ला निर्वाचन क्षेत्र नम्बर–२ बाट प्रतिनिधि सभा सदस्य पदका लागि रन्जु साह ले आफ्नो उम्मेदवारी घोषणा गर्नुभएको छ। भ्रष्टाचारविरुद्ध कठोर संघर्ष गर्दै पर्सा क्षेत्रलाई विकासको मोडेल बनाउने स्पष्ट संकल्पसहित आफू चुनावी मैदानमा उत्रिएको उहाँले बताउनुभयो।

उम्मेदवारी घोषणा गर्दै साहले विगतका नेताहरूको लुट, भ्रष्टाचार र स्वार्थी राजनीतिक अभ्यासका कारण पर्सा जिल्लाको मान, सम्मान र ऐतिहासिक पहिचान कमजोर बन्दै गएको आरोप लगाउनुभयो। अब यस अवस्थाको अन्त्य गर्दै सुशासन कायम गर्ने, भ्रष्टाचारमा संलग्नलाई दण्डित गर्ने र पर्सा क्षेत्र–२ लाई विकासको नमुना बनाउने उद्देश्यले आफू उम्मेदवार बनेको उहाँको भनाइ छ।

साहले विशेष गरी जेन–जी पुस्ताको सपना साकार पार्न र युवामैत्री राजनीतिक अभियानलाई व्यवहारिक रूप दिन आफ्नो उम्मेदवारी महत्वपूर्ण हुने बताउनुभयो। किसानहरू अपमानित जीवन बाँच्न बाध्य भइरहेको अवस्थाप्रति चिन्ता व्यक्त गर्दै उहाँले किसानलाई सम्मान, सामाजिक सुरक्षा र पेन्सनको व्यवस्था गरिने प्रतिबद्धता जनाउनुभयो।

युवाका सन्दर्भमा बोल्दै साहले गलत राजनीतिक अभ्यासका कारण नेपाली युवाहरू विदेशिन बाध्य भएको र धेरैले जोखिमपूर्ण यात्रा गर्दा ज्यानसमेत गुमाउनुपरेको उल्लेख गर्नुभयो। अब स्वदेशमै रोजगारी सिर्जना गरी युवालाई सम्मानजनक जीवन जिउने वातावरण बनाइने उहाँको दाबी छ।

उहाँले देशमा बढ्दो बैंकिङ लुट, वित्तीय ठगी र आर्थिक शोषणविरुद्ध कडा कदम चालिने बताउँदै पीडितलाई न्याय र दोषीलाई कानुनी दायरामा ल्याइने प्रतिबद्धता व्यक्त गर्नुभयो।

पर्सा जिल्लाका गरिब तथा दलित समुदाय अझै पनि आवासविहीन अवस्थामा रहेको उल्लेख गर्दै साहले सबै आवासविहीन परिवारलाई पक्की घर उपलब्ध गराइने घोषणा गर्नुभयो। साथै महिला सशक्तिकरणलाई प्राथमिकतामा राख्दै शिक्षा, स्वास्थ्य र रोजगारीका क्षेत्रमा पर्सा जिल्लालाई राष्ट्रिय स्तरमै उदाहरणीय बनाउने लक्ष्य रहेको बताउनुभयो।

लुट, भ्रष्टाचार र कर आतंकका कारण देशको अर्थतन्त्र कमजोर बन्दै गएको टिप्पणी गर्दै उहाँले भन्सारको नाममा भइरहेको लुट अन्त्य गरिने र भ्रष्टाचारीलाई कडाभन्दा कडा कारबाही गरिने स्पष्ट पार्नुभयो।
“गरिबका छोरा–छोरी विदेशमा ज्यान गुमाइरहेका छन् भने नेताका छोरा–छोरी विदेशमा ऐस गरिरहेका छन्, यो अन्यायपूर्ण अवस्थाको अन्त्य गर्नु मेरो प्रमुख लक्ष्य हो,” साहले भन्नुभयो।

अन्त्यमा उहाँले दलाल प्रवृत्तिको राजनीतिबाट देशलाई मुक्त गर्दै आम जनताको शासन स्थापित गर्न वर्तमान प्रणालीमा सुधार आवश्यक रहेको उल्लेख गर्नुभयो। जनताको हक, अधिकार र स्वाभिमानको संरक्षणका लागि आफू प्रतिनिधि सभा सदस्य पदमा उम्मेदवार बनेको उहाँको भनाइ छ।