काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले देशमा संघीय व्यवस्था कमजोर बन्दै गएको भन्दै यसलाई व्यवहारिक रूपमा बलियो बनाउनुपर्ने आवश्यकता औँल्याएका छन्।

जनकपुरमा आयोजित चुनावी घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै शाहले नेपालमा सातवटा प्रदेश सरकार रहे पनि प्रदेश सरकार भएको अनुभूति आम जनताले अझै गर्न नसकेको टिप्पणी गरे। उनले अधिकार र निर्णयको केन्द्र अझै पनि काठमाडौँमै सीमित रहेको बताउँदै संघीयताको मर्म कार्यान्वयन हुन नसकेको जनाए।

बालेनले नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत परिवर्तन गर्नसमेत काठमाडौँ धाउनुपर्ने अवस्था संघीयताको असफल अभ्यासको उदाहरण भएको बताए।
“जनकपुर प्रदेशको राजधानी हो, यहाँको प्रमुख प्रशासकीय अधिकृत फेर्नुपर्‍यो भने काठमाडौँ किन जानुपर्छ ?” भन्दै उनले प्रश्न गरे, “काठमाडौँ घुम्न जाने ठाउँ हो, अधिकार माग्न होइन।”

उनले प्रदेश र स्थानीय सरकारलाई अधिकार, स्रोत र निर्णय क्षमतामा सशक्त नबनाएसम्म संघीयता कागजमै सीमित रहने चेतावनी दिए। संघीय संरचनालाई जनताले प्रत्यक्ष महसुस गर्ने गरी कार्यान्वयन गर्न अब ढिलाइ गर्न नहुने उनको जोड थियो।