पर्सा, ६ माघ । पर्साका चारवटै निर्वाचन क्षेत्रका लागि नेपाली कांग्रेसले उम्मेदवारको टुंगो लगाएको छ।

सोमबार राति बसेको कांग्रेस संसदीय बोर्डको बैठकले पर्साका सबै निर्वाचन क्षेत्रमा पुरानै अनुहारलाई दोहोर्‍याउने निर्णय गरेको हो। तय भएका उम्मेदवारमध्ये तीन जना सभापति शेरबहादुर देउवा समूहका छन् भने एक जना महामन्त्री गगन थापा पक्षका हुन्।

कांग्रेस केन्द्रीय सदस्य रामरूप कुर्मीका अनुसार पर्सा क्षेत्र नम्बर १ बाट पूर्व केन्द्रीय सदस्य अनिल रूंगटालाई उम्मेदवार बनाइएको छ। रूंगटा २०७४ सालको निर्वाचनमा पनि पर्सा–१ बाट उम्मेदवार बनेका थिए। यसअघि दोस्रो संविधानसभा निर्वाचनमा कांग्रेसले उनलाई समानुपातिकतर्फबाट उम्मेदवार बनाएर सांसद निर्वाचित गराएको थियो।

त्यसैगरी पर्सा क्षेत्र नम्बर २ बाट पूर्व केन्द्रीय सदस्य तथा निवर्तमान सांसद अजयकुमार चौरसिया, क्षेत्र नम्बर ३ बाट पूर्व केन्द्रीय सदस्य एवं पूर्व सांसद सुरेन्द्र प्रसाद चौधरी र क्षेत्र नम्बर ४ बाट पूर्व मन्त्री, पूर्व सांसद तथा पूर्व केन्द्रीय सदस्य रमेश रिजाललाई उम्मेदवार बनाइएको कुर्मीले जानकारी दिए।

चौरसिया तीन पटक सांसद भइसकेका छन् भने चौधरी र रिजाल चार–चार पटक संसद् पुगेका नेता हुन्। रिजाल र चौधरी २०४८ सालदेखि निरन्तर चुनावी प्रतिस्पर्धामा रहेका छन्। चौरसिया र रिजाल देउवा पक्षका नेता हुन् भने चौधरी गगन थापा पक्षसँग नजिक रहेका छन्।