पर्सा,६ माघ। नेकपा एमालेले पर्सा क्षेत्र नम्बर–३ बाट प्रतिनिधि सभा सदस्य पदका लागि रुपेश पाण्डेलाई औपचारिक रूपमा उम्मेदवारी टिकट प्रदान गरेको छ। आज उम्मेदवारी मनोनयन दर्ता हुने कार्यतालिका अनुसार पार्टीले उम्मेदवारलाई चुनावी मैदानमा उतार्दै औपचारिक प्रक्रिया अघि बढाएको हो।

बीरगंजस्थित पुजन होटलमा आयोजित विशेष कार्यक्रममा नेकपा एमाले मधेस प्रदेशका उपाध्यक्ष बिचारी यादवले उम्मेदवार पाण्डेलाई टिकट हस्तान्तरण गरेका थिए। कार्यक्रममा पार्टीका केन्द्रीय तथा प्रदेशस्तरीय नेताहरू, प्रमोद जयसवाल, जसवन्त यादव, प्रधुमन चौहान, शुभेच्छुक र समर्थकहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

टिकट हस्तान्तरण समारोहलाई सम्बोधन गर्दै उपाध्यक्ष यादवले रुपेश पाण्डे पार्टीको नीति, सिद्धान्त र संगठनप्रतिको प्रतिबद्धता बोकेको सक्षम र जनप्रिय नेता भएको उल्लेख गरे। उनले आगामी निर्वाचनमा पार्टीलाई मजबुत बनाउँदै पर्सा क्षेत्र नम्बर–३ मा एमालेको विजय सुनिश्चित गर्न सबै नेता तथा कार्यकर्तालाई एकताबद्ध भएर लाग्न आग्रह गरे।

उक्त अवसरमा उम्मेदवार रुपेश पाण्डेले प्रतिनिधि सभा निर्वाचनमा विजयी भएमा पार्टीको नीति तथा कार्यक्रमलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गरे। उनले जनताको समस्या, आवश्यकता र अपेक्षालाई प्राथमिकतामा राख्दै निरन्तर संवादमार्फत समाधान खोज्ने बताए। साथै शिक्षा, स्वास्थ्य, रोजगारी, पूर्वाधार विकास र सुशासनलाई आफ्नो प्रमुख चुनावी एजेण्डा बनाउने स्पष्ट पारे।

पाण्डेले लोकतान्त्रिक मूल्य–मान्यता, समावेशी विकास र जनउत्तरदायी शासन प्रणालीलाई मजबुत बनाउने दिशामा आफू क्रियाशील रहने पनि बताए। कार्यक्रममा सहभागी नेता तथा कार्यकर्ताहरूले आगामी निर्वाचनमा उत्साहका साथ चुनावी अभियानमा लाग्ने प्रतिबद्धता जनाएका थिए।

यससँगै पर्सा क्षेत्र नम्बर–३ मा प्रतिनिधि सभा निर्वाचनको राजनीतिक माहोल थप तातेको छ भने विभिन्न दलहरूबीच प्रतिस्पर्धा चर्किंदै जाने संकेत देखिएको छ।