काठमाडौं ६ माघ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले झापा क्षेत्र नम्बर–५ बाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दर्ता गराएका छन्। बालेनले आज झापा निर्वाचन कार्यालय पुगेर औपचारिक रूपमा आफ्नो मनोनयन दर्ता गराएका हुन्।

झापा–५ लाई नेकपा एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको परम्परागत निर्वाचन क्षेत्रका रूपमा लिइन्छ। ओली यस क्षेत्रबाट पटक–पटक निर्वाचित हुँदै आएका छन्। यही क्षेत्रमा बालेनको उम्मेदवारी दर्तासँगै राजनीतिक समीकरण थप रोचक बनेको छ।

नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पनि झापा–५ बाट प्रतिनिधिसभा निर्वाचनका लागि आफ्नो मनोनयन दर्ता गराइसकेका छन्। आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा बालेन र ओलीबीच प्रत्यक्ष प्रतिस्पर्धा हुने पक्का भएसँगै यो निर्वाचनलाई देशभर चासोका साथ हेरिन थालेको छ।

विशेषतः नयाँ राजनीतिक धारको प्रतिनिधित्व गर्ने बालेन र लामो समयदेखि मुलधारको राजनीतिमा प्रभाव जमाउँदै आएका ओलीबीचको यो भिडन्तलाई ‘नयाँ सोच बनाम पुरानो अनुभव’ को टक्करका रूपमा विश्लेषण गरिएको छ। रास्वपाले सुशासन, पारदर्शिता र वैकल्पिक राजनीतिलाई आफ्नो प्रमुख एजेन्डा बनाउँदै आएको छ भने एमालेले स्थिरता र अनुभवलाई मुख्य आधारका रूपमा प्रस्तुत गर्दै आएको छ।

दुवै नेताको मनोनयन दर्ता भइसकेपछि झापा–५ को चुनावी माहोल थप तातेको छ। राजनीतिक विश्लेषकहरूका अनुसार यस क्षेत्रको नतिजाले राष्ट्रिय राजनीतिमा पनि दूरगामी सन्देश दिने अपेक्षा गरिएको छ।