काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवारी दर्ता गराएका छन्। माओवादी आन्दोलनको आधार क्षेत्रका रूपमा चिनिने रुकुम पूर्वबाट उनले आफ्नो मनोनयन दर्ता गराएका हुन्।

उम्मेदवारी दर्तापछि सञ्चारकर्मीसँग कुरा गर्दै प्रचण्डले भ्रष्टाचारमुक्त, समुन्नत र न्यायपूर्ण नेपाल निर्माणको साझा संकल्पसहित चुनावमा सहभागी हुन सबैलाई आग्रह गरे। उनले देशभर आफ्नो पार्टीको चुनाव चिह्न ‘तारा’ लिएर उम्मेदवारी दर्ता गराउने सम्पूर्ण उम्मेदवारलाई अग्रिम शुभकामना समेत व्यक्त गरे।

“हाम्रो क्रान्तिसँग जोडिएको ऐतिहासिक जिल्ला रुकुम पूर्वबाट मैले उम्मेदवारी मनोनयन दर्ता गराएको छु,” प्रचण्डले भने, “यस अवसरमा देशभर तारा चुनाव चिह्न लिएर उम्मेदवारी दर्ता गराउनु भएका सबै उम्मेदवारहरूलाई अग्रिम बधाई तथा शुभकामना व्यक्त गर्दछु।”

उनले आगामी निर्वाचनमा भ्रष्टाचारविरुद्ध दृढ संघर्ष, समावेशी विकास र सामाजिक न्यायलाई केन्द्रमा राख्दै मुलुकलाई नयाँ दिशातर्फ अघि बढाउन तारा चुनाव चिह्नमा मतदान गर्न सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई हार्दिक अपिल गरेका छन्।