बुटवल । युवा अभियन्ता तथा चिकित्सक डा. निकोलस भुसालले रुपन्देही निर्वाचन क्षेत्र नम्बर–२ बाट प्रतिनिधिसभा सदस्य पदका लागि स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन्। आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि उनले मंगलबार निर्वाचन अधिकृतको कार्यालय पुगेर औपचारिक रूपमा मनोनयन पत्र दर्ता गराएका हुन्।

सामाजिक सञ्जालमा सक्रियता तथा विभिन्न नागरिक आन्दोलनमा सहभागिताका कारण पछिल्लो समय चर्चामा रहेका भुसालले परम्परागत राजनीतिलाई चुनौती दिने उद्देश्यसहित चुनावी मैदानमा उत्रिएको बताएका छन्। उनले युवाको आवाज, पारदर्शिता र जवाफदेही राजनीतिक संस्कार स्थापित गर्न आफू स्वतन्त्र उम्मेदवारका रूपमा अघि बढेको उल्लेख गरेका छन्।

रुपन्देही–२ क्षेत्रलाई नेकपा (एमाले) का उपाध्यक्ष विष्णु पौडेलको बलियो पकड भएको निर्वाचन क्षेत्रका रूपमा हेरिँदै आएको छ। यस्तो अवस्थामा डा. भुसालको उम्मेदवारीले स्थापित राजनीतिक संरचनालाई चुनौती दिने र निर्वाचन प्रतिस्पर्धालाई थप रोचक बनाउने अनुमान गरिएको छ।