वीरगञ्ज । नेकपा (एमाले)को तर्फबाट प्रदीप यादवले पर्सा निर्वाचन क्षेत्र नम्बर–१ बाट तथा रिमा कुमारी यादवले पर्सा निर्वाचन क्षेत्र नम्बर–२ बाट प्रतिनिधिसभा सदस्य पदका लागि उम्मेदवारी दर्ता गराएका छन्।

उनीहरू एमालेका नेता, कार्यकर्ता तथा समर्थकसहित जुलुस निकाल्दै जिल्ला समन्वय समिति पर्सास्थित निर्वाचन अधिकृतको कार्यालय पुगेर औपचारिक रूपमा मनोनयन दर्ता गराएका हुन्। उम्मेदवारी दर्ताका क्रममा एमाले कार्यकर्ताको उल्लेखनीय उपस्थिति देखिएको थियो।

२९ वर्षीया रिमा कुमारी यादव पर्सा जिल्लाकै सबैभन्दा कम उमेरकी महिला उम्मेदवार बनेकी छन्। उनको उम्मेदवारीले युवा तथा महिलाको राजनीतिक सहभागिता थप सशक्त हुने अपेक्षा गरिएको छ।

एमालेले संगठनात्मक शक्ति, जनसमर्थन र स्पष्ट राजनीतिक एजेन्डाका आधारमा निर्वाचनमा प्रतिस्पर्धा गर्ने दाबी गरेको छ। उम्मेदवारी दर्तासँगै पर्सा जिल्लामा चुनावी गतिविधि थप तीव्र हुँदै जाने संकेत देखिएको छ।