वीरगञ्ज । उज्यालो नेपाल पार्टीको तर्फबाट पर्सा निर्वाचन क्षेत्र नम्बर–१ मा रामकिशोर सिंह (पराग) ले प्रतिनिधिसभा सदस्य पदका लागि उम्मेदवारी दर्ता गराएका छन्। पार्टीका केन्द्रीय सदस्यसमेत रहेका पराग पहिलोपटक प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनेका हुन्।

पराग यसअघि २०७९ सालको स्थानीय तह निर्वाचनमा वीरगञ्ज महानगरपालिका–२० बाट वडाध्यक्ष पदमा निर्वाचित भएका थिए। प्रतिनिधिसभा सदस्य पदका लागि उम्मेदवारी दर्ता गरेसँगै उनले आजै वडाध्यक्ष पदबाट राजीनामा दिएका छन्।

राजनीतिक यात्राको क्रममा उनले जेन–जी आन्दोलनका बेला नेकपा (एमाले) वीरगञ्ज महानगर कमिटीको उपाध्यक्ष पदबाट पनि राजीनामा दिएका थिए। परम्परागत राजनीतिभन्दा फरक सोच र वैकल्पिक राजनीतिक धार प्रस्तुत गर्ने उद्देश्यसहित आफू चुनावी मैदानमा उत्रिएको परागले बताएका छन्।

उनको उम्मेदवारीसँगै पर्सा–१ मा वैकल्पिक राजनीति र नयाँ नेतृत्वको बहस थप चर्किने अनुमान गरिएको छ।