वीरगञ्ज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पर्सा जिल्ला सभापति बुद्धिप्रसाद (हरि) पन्त र वीरगञ्ज महानगरपालिका–१० का वडाध्यक्ष सुशील कुमार कानुले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि मनोनयन दर्ता गराएका छन्। पन्तले पर्सा निर्वाचन क्षेत्र नम्बर–१ बाट र कानुले क्षेत्र नम्बर–२ बाट उम्मेदवारी दर्ता गरेका हुन्।

उनीहरू निर्वाचन अधिकृतको कार्यालयमा पुगेर आ–आफ्नो उम्मेदवारी दर्ता गराएका थिए। मनोनयन दर्तापछि सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पर्सा–२ का उम्मेदवार सुशील कुमार कानुले जनताले अब स्पष्ट रूपमा परिवर्तन खोजिरहेको बताए।

मधेस केन्द्रित दल परित्याग गरी रास्वपामा आएको कारण खुलाउँदै कानुले भने, “काठमाडौँ महानगरका निवर्तमान मेयर बालेन्द्र शाह (बालेन) लाई प्रधानमन्त्रीको उम्मेदवार बनाएर रास्वपाले आजसम्म कुनै पनि दलले नगरेको काम गरेको छ। मधेसी छोरालाई प्रधानमन्त्री बनाउने अभियानमा सहभागी हुन मैले रास्वपा रोजेको हुँ।”

उनले परम्परागत राजनीतिक दलहरूबाट जनता आजित भइसकेको दाबी गर्दै अबको परिवर्तन राष्ट्रिय स्वतन्त्र पार्टीबाट मात्र सम्भव हुने बताए। निर्वाचित भए पर्सा जिल्लाको गुमेको गरिमा पुनः स्थापित गर्ने प्रतिबद्धता जनाउँदै उनले वीरगञ्जलाई धार्मिक पर्यटकीय क्षेत्रका रूपमा विकास गर्ने, बहुदरमाई नगरपालिकालाई प्रविधियुक्त नमुना सहर बनाउने र पर्सागढीको ऐतिहासिक महत्वलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा चिनाउने योजना सार्वजनिक गरे।

पर्सा–१ का उम्मेदवार बुद्धिप्रसाद पन्त पार्टी स्थापनाकालदेखि नै सक्रिय रहँदै आएका नेता हुन् भने कानु जनता समाजवादी पार्टी (जसपा) परित्याग गरी रास्वपामा आएका युवा नेता हुन्। रास्वपाले पर्सा निर्वाचन क्षेत्र नम्बर–३ मा निर्माण व्यवसायी रामाकान्त चौरसिया र क्षेत्र नम्बर–४ मा टेकबहादुर शाक्यलाई उम्मेदवार बनाइसकेको जनाएको छ।