वीरगञ्ज । पर्सा जिल्लाको निर्वाचन क्षेत्र नम्बर–३ मा नेकपा (एमाले)का तर्फबाट प्रतिनिधिसभा सदस्यका युवा उम्मेदवार रूपेश कुमार पाण्डेयले हजारौँ समर्थकको उत्साहपूर्ण सहभागिताबीच मनोनयन दर्ता गराएका छन्। जनलहर, अनुशासित उपस्थिति र नाराबाजीले मनोनयन दर्ता कार्यक्रमलाई ऐतिहासिक र अर्थपूर्ण बनाएको थियो।

मनोनयन दर्ताअघि पाण्डेयले पोखरिया नगरपालिकास्थित शिव मन्दिरमा विधिवत् पूजा–अर्चना गरेका थिए। त्यसपछि वीर सहिद चन्दन पटेलको सालिकमा माल्यार्पण गर्दै लोकतान्त्रिक प्रक्रिया र सहिदप्रति सम्मान प्रकट गरेका थिए।

मनोनयन दर्तापछि सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै उम्मेदवार पाण्डेयले शिक्षा र स्वास्थ्यलाई आफ्नो पहिलो प्राथमिकतामा राख्दै पर्सा–३ लाई आर्थिक तथा सामाजिक रूपमा समग्र समृद्धितर्फ लैजाने प्रतिबद्धता व्यक्त गरे। उनले युवाको ऊर्जा, नयाँ सोच र परिणाममुखी नेतृत्वमार्फत निर्वाचन क्षेत्रलाई विकासको नयाँ मोडमा पुर्‍याउने दृढ विश्वास व्यक्त गरे।

मनोनयन कार्यक्रममा एमालेका केन्द्रीय कमिटी सदस्य तथा पर्सा जिल्ला इन्चार्ज प्रभु हजरा, केन्द्रीय सदस्य तथा वीरगञ्ज महानगरपालिकाका पूर्व मेयर विजयकुमार सरावगी, जिल्ला कमिटी अध्यक्ष विश्वम्भर शर्मा, शिव पटेल, पूर्व प्रदेशसभा सदस्य मञ्जुर अन्सारी, सखुवा प्रसौनी गाउँपालिका प्रमुख जसवन्त यादवलगायत क्षेत्रका चिरपरिचित नेता, कार्यकर्ता, युवा, वृद्ध तथा बुद्धिजीवीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

कार्यक्रममा उपस्थित नेताहरूले पाण्डेयलाई स्वच्छ छवि, विकासप्रेमी सोच र जनतासँग प्रत्यक्ष जोडिएको युवा नेतृत्वका रूपमा चित्रित गर्दै पर्सा–३ का लागि सही, सक्षम र सशक्त विकल्प भएको धारणा व्यक्त गरेका थिए।