धनुषा । प्रतिनिधिसभा निर्वाचनका लागि धनुषा निर्वाचन क्षेत्र नम्बर–३ बाट पत्रकार दिवाकर साहले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन्। साहले आज निर्वाचन आयोगको कार्यालय पुगेर औपचारिक रूपमा मनोनयन दर्ता गराएका हुन्।

उम्मेदवारी दर्तापछि सञ्चारकर्मीसँग प्रतिक्रिया दिँदै साहले दलगत राजनीतिभन्दा बाहिर रहेर आम नागरिकका वास्तविक र ज्वलन्त मुद्दा संसदमा उठाउने उद्देश्यले स्वतन्त्र उम्मेदवारी दिएको बताएका छन्। उनका अनुसार शिक्षा, स्वास्थ्य, रोजगारी र सुशासन उनका प्रमुख चुनावी एजेन्डा रहनेछन्।

“धनुषा–३ का नागरिक वर्षौंदेखि आधारभूत समस्याबाट पीडित छन्,” साहले भने, “ती समस्याको समाधानका लागि जनताकै आवाज बनेर संसदमा पुग्न चाहन्छु।”

लामो समयदेखि पत्रकारितामा सक्रिय रहेका साह स्थानीयदेखि राष्ट्रिय तहका मुद्दामा निरन्तर कलम चलाउँदै आएका छन्। उनको उम्मेदवारीसँगै धनुषा–३ मा वैकल्पिक राजनीति र नयाँ बहस सुरु हुने अपेक्षा गरिएको छ।

यस निर्वाचन क्षेत्रमा विभिन्न राजनीतिक दलका उम्मेदवारसँगै स्वतन्त्र उम्मेदवारहरूको उपस्थितिले प्रतिस्पर्धा थप चासोपूर्ण बन्ने देखिएको छ। निर्वाचन आयोगका अनुसार उम्मेदवारी दर्ता प्रक्रिया निर्धारित कार्यतालिकाअनुसार शान्तिपूर्ण रूपमा अघि बढिरहेको छ।