बिनोद यादव / पर्सा,७ माघ। इलाका प्रहरी कार्यालय (इ.प्र.का.) पटेर्वा सुगौलीमा बुधबार प्रहरी निरीक्षकहरूको बिदाई तथा स्वागत कार्यक्रम भव्य र सौहार्दपूर्ण वातावरणमा सम्पन्न भएको छ। शान्ति सुरक्षा सुदृढीकरण तथा समुदाय–प्रहरी सहकार्यलाई थप मजबुत बनाउने उद्देश्यले आयोजना गरिएको उक्त कार्यक्रममा उल्लेखनीय सहभागिता रहेको थियो।

समारोहमा हालसम्म इ.प्र.का. पटेर्वा सुगौलीमा कार्यरत प्रहरी निरीक्षक प्रकाश थापालाई सिमरा इलाका प्रहरी कार्यालयमा सरुवा भई जान लाग्नु भएको अवसरमा सम्मानपूर्वक बिदाई गरिएको हो। आफ्नो कार्यकालको अवधिमा उहाँले शान्ति सुरक्षा कायम राख्न, अपराध नियन्त्रण गर्न, सार्वजनिक सुव्यवस्था सुदृढ बनाउन तथा स्थानीय समुदायसँग सहकार्य गर्दै प्रभावकारी ढंगले सेवा प्रवाह गर्नुभएको योगदानको विशेष प्रशंसा गरिएको थियो। स्थानीयस्तरमा प्रहरीप्रतिको विश्वास अभिवृद्धि गर्न उहाँको भूमिका सराहनीय रहेको वक्ताहरूले उल्लेख गरेका थिए।

उक्त अवसरमा केन्द्रीय विशेष कार्यालय (नक्साल), काठमाडौँबाट सरुवा भई आउनु भएका प्रहरी निरीक्षक समुन्नत अधिकारीलाई औपचारिक रूपमा स्वागत गरिएको छ। स्वागत कार्यक्रममा स्थानीय समाजसेवी, विभिन्न राजनीतिक दलका प्रतिनिधिहरू, सञ्चारकर्मीहरू, सुरक्षाकर्मीहरू तथा नागरिकहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

कार्यक्रमका क्रममा फुलमाला, मायाको चिनो, सम्मानपत्र तथा शुभकामना आदान–प्रदान गर्दै प्रहरी र समुदायबीचको आपसी सम्बन्ध, सहकार्य र सौहार्दलाई थप सुदृढ बनाउने प्रतिबद्धता व्यक्त गरिएको थियो।
सहभागी वक्ताहरूले प्रहरी र नागरिकबीचको सहकार्य नै दिगो शान्ति र सुरक्षाको आधार भएकोमा जोड दिएका थिए।

समारोहलाई सम्बोधन गर्दै नवआगन्तुक प्रहरी निरीक्षक समुन्नत अधिकारीले समुदायको विश्वासलाई आत्मसात् गर्दै कानुनी शासन, शान्ति सुरक्षा र सेवामुखी प्रहरी प्रशासनलाई प्राथमिकता दिइने प्रतिबद्धता व्यक्त गर्नुभयो। साथै, यस्ता कार्यक्रमहरूले सुरक्षाकर्मीहरूको मनोबल उच्च बनाउनुका साथै समुदायसँगको सम्बन्ध अझ मजबुत हुने विश्वास व्यक्त गर्नुभयो।

कार्यक्रम समग्रमा भव्य, अनुशासित र सौहार्दपूर्ण वातावरणमा सम्पन्न भएको थियो। यसले प्रहरी–समुदाय सम्बन्धलाई थप बलियो बनाउँदै शान्ति सुरक्षामा सकारात्मक सन्देश प्रवाह गरेको सहभागीहरूको भनाइ रहेको छ।