पर्सा,९ माघ। पर्सा राष्ट्रिय निकुञ्जको मध्यभागमा पर्ने घना जङ्गल र चुरे पहाडको टाकुरामा अवस्थित ऐतिहासिक तथा धार्मिक स्थल श्री श्री १०८ श्री बाबा दुग्धेश्वरनाथ महादेव मन्दिर (रामभौरी भाथा धाम) मा वसन्त पञ्चमीको अवसरमा भव्य मेला सम्पन्न भएको छ।

पर्साको पटेर्वा सुगौली गाउँपालिका–१ मा अवस्थित यस मन्दिरमा मङ्गलबारदेखि सुरु भएको मेलामा नेपाल तथा भारतका विभिन्न स्थानबाट पवित्र जल बोकेर आएका बोलबम कावरियाहरू राति १ बजेदेखि नै दर्शनका लागि मन्दिर परिसरमा भीड लागेका थिए। धार्मिक विश्वासअनुसार वसन्त पञ्चमीका दिन भाकल पूरा गर्न तथा भगवान शिवको दर्शन गर्न भक्तजनहरू दुग्धेश्वरनाथ मन्दिर पुग्ने परम्परा रहिआएको छ।

मेला व्यवस्थापन समितिका सदस्य मनोज यादवका अनुसार पर्सा राष्ट्रिय निकुञ्जबाट वसन्त पञ्चमीको मेलाका लागि ६ गतेदेखि ११ गतेसम्म अनुमति प्राप्त भएको थियो। यस वर्षको मेलामा लाखौँको संख्यामा भक्तजन तथा कावरियाहरूले दर्शन गरी फर्किसकेको उनले जानकारी दिए।

पर्सा जिल्ला निर्वाचन क्षेत्र नम्बर–३ अन्तर्गत पर्ने यो धार्मिक स्थल हाल विस्तारित पर्सा राष्ट्रिय निकुञ्ज क्षेत्रमा पर्दछ। भारतका केदारनाथ, बद्रीनाथ, काशी विश्वनाथ, महाकालेश्वर र सोमनाथजस्ता प्रमुख शिवालयहरूमा जाने तीर्थयात्रीहरू पछिल्ला वर्षहरूमा नजिकैको तीर्थस्थलका रूपमा दुग्धेश्वरनाथ महादेव (भाथा धाम) मा पनि दर्शन गर्न आउने क्रम बढेको छ। विशेषगरी पर्सा, बारा तथा भारतको बिहार राज्यका विभिन्न क्षेत्रबाट श्रद्धालुहरू यस मेलामा सहभागी भएका थिए।

यस मन्दिरमा वर्षमा चार पटक विशेष मेला लाग्ने गर्दछ। साउन महिनाभर, माघ महिनाको वसन्त पञ्चमी, फागुनको महाशिवरात्रि र वैशाखको त्रयोदशीका दिन विशेष मेला आयोजना हुने गरेको छ। साउन महिनाको मेला सबैभन्दा ठूलो र भव्य मानिन्छ।

घना जङ्गलभित्र अवस्थित मेलास्थलमा जङ्गली जनावरको सम्भावित जोखिमलाई मध्यनजर गर्दै सुरक्षा व्यवस्था कडा बनाइएको थियो। पटेर्वा सुगौली र सखुवा प्रसौनी गाउँपालिकाले दुईवटा जेसीबी तयारी अवस्थामा राखेका थिए।

मन्दिरका पुजारीका अनुसार परापूर्वकालदेखि नै साउन महिनाभर भक्तजनहरू आफ्ना पूर्वजको नाममा जल अर्पण गर्न यहाँ आउने गरेका छन्। राजाको पालामा समेत हेलिकप्टरमार्फत दर्शन गर्न आउने गरेको इतिहास रहेको र त्यसका लागि मन्दिर नजिकै पहाड फोडेर बनाइएको हेलिप्याड अहिले पनि यथावत रहेको छ।

एक दशकअघि पर्सा राष्ट्रिय निकुञ्ज क्षेत्र विस्तार भएपछि भाथा गाउँ अन्यत्र स्थानान्तरण गरिएको थियो। मेला व्यवस्थापन समिति सदस्य जय भोले परिचित यादवका अनुसार निकुञ्ज विस्तारपछि प्रत्येक मेलामा सेनासँग अनुमति र व्यवस्थापनका विषयमा समस्या आउने गरेकाले भाथा धाम अपेक्षित रूपमा विकास हुन नसकेको गुनासो रहेको छ।

इलाका प्रहरी कार्यालय पटेर्वा सुगौलीका प्रहरी निरीक्षक समुन्नत अधिकारीले मेलाको अवस्थाबारे समितिसँग स्थलगत भेटघाट गरेका थिए। मेलामा कुनै पनि अप्रिय घटना नघटेको र शान्ति सुरक्षा पूर्ण रूपमा कायम रहेको उनले जानकारी दिए।

भक्तिभाव, श्रद्धा र सांस्कृतिक उत्सवले भरिएको भाथा धाम हाल धार्मिक आस्थाको केन्द्रसँगै एक महत्वपूर्ण पर्यटकीय गन्तव्यका रूपमा स्थापित हुँदै गएको छ।