पर्सा / पर्सा निर्वाचन क्षेत्र नं. २ बाट प्रतिनिधि सभा सदस्यका लागि युवा स्वतन्त्र उम्मेद्वारका रूपमा उम्मेद्वारी दिएका राकेश कुमार सहनीले निर्वाचन आयोगबाट आफ्नो चुनाव चिन्ह प्राप्त गर्नुभएको छ। मनोनयन दर्ता गराएपछि आज उहाँले औपचारिक रूपमा ‘आँप’ छाप पाउनुभएको हो।

चिन्ह प्राप्त गरेलगत्तै उम्मेद्वार सहनीले पर्सा–२ का सम्पूर्ण क्षेत्रवासीहरूसँग एकजुट भई आफूलाई एक–एक मत प्रदान गर्न आग्रह गर्नुभएको छ। आगामी फाल्गुन २१ गते ‘आँप’ छापमा मतदान गरी विजयी गराइदिन उहाँले सबै मतदातासमक्ष अपील गर्नुभएको छ।

पर्सा निर्वाचन क्षेत्र नं. २ बाट स्वतन्त्र उम्मेद्वार राकेश कुमार सहनीले आफ्नो उम्मेद्वारीको उद्देश्य पनि स्पष्ट पार्नुभएको छ। उहाँका अनुसार नेतृत्वमा क्रान्ति ल्याउने, लोकतान्त्रिक अभ्यासलाई स्वस्थ र मजबुत बनाउने, जनताको अधिकार सुनिश्चित गर्ने, राष्ट्र निर्माणमा इमानदार भूमिका खेल्ने, प्रतिनिधिको स्वेच्छाचारिता अन्त्य गर्ने, कार्यकर्ता राज्य प्रवृत्तिमा अंकुश लगाउने तथा सबै नागरिकले सम्मानपूर्वक बाँच्न पाउने अधिकार सुनिश्चित गर्नकै लागि आफू चुनावी मैदानमा उत्रिएको बताउनुभएको छ।

यसैबीच, उहाँका समर्थकहरूले “प्रत्यक्षमा राकेश कुमार सहनी, केन्द्रमा समानुपातिक बालेन–बालेन सरकार” भन्ने नारासहित चुनावी अभियानलाई तीव्र बनाएका छन्। युवाको नेतृत्व, परिवर्तनको चाहना र स्वच्छ राजनीतिप्रति विश्वास राख्ने मतदाताहरूको समर्थन क्रमशः बढ्दै गएको समर्थकहरूको दाबी छ।