मेघराज राय/ जिराभवानी, माघ १० । पर्साको ठोरी गाउँपालिका–४ मा अवस्थित निर्मल ठोरी साना किसान कृषि सहकारी संस्था लिमिटेडको तेस्रो वार्षिक साधारणसभा तथा व्यवस्थापन हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ। शनिबार संस्थाको कार्यालय विशालचोकमा सम्पन्न साधारणसभाले सहकारीको सम्पूर्ण व्यवस्थापन जिम्मेवारी औपचारिक रूपमा निर्मल ठोरी कृषि सहकारी संस्थालाई हस्तान्तरण गरेको छ।

यसअघि उक्त संस्था साना किसान कृषि संस्थाको केन्द्रीय समितिमा आबद्ध रही सञ्चालन हुँदै आएको थियो। साधारणसभाका अवसरमा साना किसानको केन्द्रीय समिति, निर्मल ठोरी साना किसान कृषि सहकारी र साना किसान विकास लघुवित्त वित्तीय संस्थाबीच त्रिपक्षीय सम्झौता पनि गरिएको सहकारीका अध्यक्ष खगेन्द्र श्रेष्ठले जानकारी दिए।

सम्झौतापछि सहकारीले साना किसान विकास लघुवित्त वित्तीय संस्थाबाट प्राविधिक सहयोग प्राप्त गर्नेछ। आर्थिक व्यवस्थापन, तालिम, भवन निर्माण, कर्मचारी व्यवस्थापनलगायत विभिन्न क्षेत्रमा सहयोग उपलब्ध हुने जानकारी सभामा गराइएको थियो।

कार्यक्रममा सहकारी महासंघका केन्द्रीय उपाध्यक्ष तथा साना किसान विकास लघुवित्त वित्तीय संस्थाका केन्द्रीय अध्यक्ष खेमबहादुर पाठक प्रमुख अतिथि रहनुभएको थियो। ठोरी गाउँपालिकाका अध्यक्ष लालबहादुर श्रेष्ठ विशिष्ट अतिथिका रूपमा उपस्थित थिए। साथै विभिन्न क्षेत्रका प्रतिनिधि, कर्मचारी, सञ्चालक समिति, लेखा समिति तथा संस्थाका सम्पूर्ण सदस्यहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

संस्थाका अध्यक्ष खगेन्द्र श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा वक्ताहरूले सहकारीको मर्म र उद्देश्य बुझेर मात्र सदस्य बन्न आग्रह गर्दै सहकारीप्रति हुने भ्रम हटाउन सचेतना आवश्यक रहेकोमा जोड दिएका थिए।

प्रमुख अतिथि पाठकले सहकारीको दिगो विकास, पारदर्शिता र सदस्य–केन्द्रित सेवामा जोड दिँदै व्यवस्थापन हस्तान्तरणले संस्थालाई अझ सुदृढ बनाउने विश्वास व्यक्त गर्नुभयो। यस्तै ठोरी गाउँपालिका अध्यक्ष श्रेष्ठले स्थानीय किसान र साना उद्यमीको आर्थिक सशक्तीकरणमा सहकारीको भूमिकाको प्रशंसा गर्दै आगामी दिनमा गाउँपालिकाको तर्फबाट आवश्यक सहकार्य रहने प्रतिबद्धता जनाउनुभयो।

२०७९ फागुन १ गतेदेखि सञ्चालनमा आएको निर्मल ठोरी साना किसान कृषि सहकारीले पछिल्लो समय किसान हकहितका क्षेत्रमा मलखाद वितरण, अनुदानमा कृषि बिउबिजन वितरणलगायतका कार्य गर्दै आएको छ।