शैलेश गुप्ता / पोखरिया, माघ १० । पर्सा जिल्लाको निर्वाचन क्षेत्र नम्बर–३ मा नेकपा (एमाले) को क्षेत्रीय समन्वय कमिटीको अगुवा कार्यकर्ता भेला तथा बृहत् पार्टी प्रवेश कार्यक्रम पोखरियामा सम्पन्न भएको छ। आगामी प्रतिनिधिसभा निर्वाचनलाई केन्द्रमा राख्दै आयोजित कार्यक्रममा चुनावी रणनीति, संगठन सुदृढीकरण र पार्टीपंक्तिको प्रभावकारी परिचालनबारे गहन छलफल गरिएको थियो।

कार्यक्रममा पर्सा–३ बाट प्रतिनिधिसभा सदस्यका एमालेका युवा उम्मेदवार रूपेश कुमार पाण्डेले पर्सा–३ लाई विकास, सुशासन र अवसरको दृष्टिले देशकै नमुना क्षेत्र बनाउने दृढ प्रतिबद्धता व्यक्त गरे। उनले युवाको ऊर्जा, अनुभवी नेतृत्वको मार्गदर्शन र जनताको भरोसामा आधारित समावेशी विकासको खाका प्रस्तुत गर्दै रोजगारी, पूर्वाधार, शिक्षा र स्वास्थ्यलाई प्राथमिकतामा राख्ने बताए।

क्षेत्रीय समन्वय कमिटीका अध्यक्ष फर्मान मियाको अध्यक्षता तथा नेकपा एमालेका केन्द्रीय कमिटी सदस्य एवं पर्सा जिल्ला इन्चार्ज प्रभु हजराको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा पार्टीका शीर्ष तथा प्रभावशाली नेताहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। कार्यक्रममा केन्द्रीय सदस्य निर्मला देवकोटा, केन्द्रीय सल्लाहकार परिषद् सदस्य शिव पटेल, मधेश प्रदेश उपाध्यक्ष बिचारी यादव, पर्सा जिल्ला अध्यक्ष विश्वम्भर शर्मा, प्रदेशसभा सदस्य तथा पूर्व खेलकुद तथा समाजकल्याण मन्त्री प्रमोद जैसवाल, पोखरिया नगरपालिकाका नगरप्रमुख प्रदुमन प्रसाद चौहान, सखुवा प्रसौनी गाउँपालिका प्रमुख जसवंत यादव, पूर्व सांसद हरीनारायण रौनियार, पूर्व सखुवा प्रसौनी गाउँपालिका अध्यक्ष प्रदीप जैसवाल, बहुदरमाई गाउँपालिकाकी उपप्रमुख सुष्मा कुशवाहा, प्रदेश कमिटी सदस्य मन्तुरा देवी चौधरी, पोखरिया नगर कमिटी अध्यक्ष विन्ध्याचल ठाकुर, सचिव सन्तोष गिरीलगायत प्रदेश, जिल्ला र पालिका तहका पदाधिकारी तथा कार्यकर्ताहरू सहभागी थिए।

पोखरियास्थित नेकपा एमालेको पार्टी कार्यालयमा सम्पन्न कार्यक्रममा विभिन्न दल परित्याग गरी दुई दर्जनभन्दा बढी नेता तथा कार्यकर्ता एमालेमा प्रवेश गरेका छन्। नेपाली काँग्रेस निकट तरुण दल पर्साका सचिव सन्तोष महतो, राष्ट्रिय मुक्ति पार्टीका सदाम हुसैनलगायत पोखरिया नगरपालिका वडा नम्बर–८ मननपुरका खरदार मिया, औरन्जेव अन्सारी, मयोनदिन मिया, रामनाथ सहनी, रामबाबु सहनी, मजिद राय, मोती मुखिया बिन, परशुराम मिश्रलगायत एमालेमा प्रवेश गरेका हुन्। नवप्रवेशीहरूलाई पार्टीका नेताहरूले खादा र टीका लगाएर स्वागत गरेका थिए। सो अवसरमा सन्तोष महतोलाई एमालेको क्षेत्रीय युवा परिचालन कमिटी संयोजकको जिम्मेवारी पनि प्रदान गरिएको छ।

कार्यक्रममा प्रमुख अतिथि प्रभु हजराले पार्टीका उम्मेदवारको जित सुनिश्चित गर्न एकताबद्ध, अनुशासित र जनकेन्द्रित अभियानमा जुट्न निर्देशन दिए। उनले पर्सा–३ मा देखिएको जनसमर्थन र संगठनात्मक मजबुतीका आधारमा एमालेको जित सुनिश्चित हुने विश्वास व्यक्त गरे।

भेलाले पर्सा–३ मा एमालेको संगठनात्मक तयारी सशक्त बन्दै गएको संकेत दिएको छ। युवाको नेतृत्व, अनुभवी नेताहरूको मार्गदर्शन र जनताको बढ्दो भरोसासँगै रूपेश कुमार पाण्डेको उम्मेदवारीलाई परिवर्तन र स्थायित्वको प्रतीकका रूपमा हेरिएको छ। पर्सा–३ मा एमालेको जित सुनिश्चित गर्ने दिशामा पार्टी थप संगठित र सक्रिय रूपमा अघि बढेको देखिएको छ।

कार्यक्रममा पूर्व संविधानसभा सदस्य तथा पोखरिया नगरपालिकाका नगरप्रमुख प्रदुमन प्रसाद चौहानले स्वागत मन्तव्य व्यक्त गरेका थिए भने कार्यक्रमको सहजीकरण सचिव सन्तोष गिरीले गरेका थिए।