वीरगञ्ज । पर्सा जिल्लाको पकहाँमैनपुर गाउँपालिका वडा नम्बर–५ सबैठवामा वसन्त पञ्चमी अर्थात् सरस्वती पूजाको अवसरमा श्री सरस्वती ट्युसन सेन्टरको आयोजनामा सांस्कृतिक कार्यक्रम सम्पन्न भएको छ।

कार्यक्रमका प्रमुख अतिथि वडा नम्बर–५ का वडाध्यक्ष बलिराम चौरसियाले दीप प्रज्वलन गरी कार्यक्रमको औपचारिक उद्घाटन गरेका थिए। उद्घाटन समारोहमा बोल्दै उनले शिक्षा र संस्कृतिको विकासमा यस्ता कार्यक्रमको महत्वपूर्ण भूमिका रहने उल्लेख गर्दै विद्यार्थीको सर्वाङ्गीण विकासमा शैक्षिक संस्थाले खेल्ने भूमिकाको प्रशंसा गरे।

कार्यक्रममा विशेष अतिथिका रूपमा वडा सदस्य रमावती देवी, धिरज बर्णवाल, शिवपुजन चौरसिया, मकबुल गद्दी, विजय सहनी, किरन पटेल, विजय चौरसियालगायत स्थानीय अगुवा र अभिभावकहरूको उपस्थिति रहेको कार्यक्रम सञ्चालक आदित्य शर्माले जानकारी दिएका हुन्।

सांस्कृतिक कार्यक्रममा विद्यार्थीहरूले सरस्वती वन्दना, नृत्य, गीत तथा विविध सांस्कृतिक प्रस्तुति प्रस्तुत गरेका थिए, जसले कार्यक्रमलाई थप आकर्षक बनाएको थियो। उपस्थित अतिथिहरूले विद्यार्थीहरूको प्रस्तुतीको प्रशंसा गर्दै भविष्यमा पनि यस्ता सिर्जनात्मक कार्यक्रम निरन्तर गर्न सुझाव दिएका थिए।

कार्यक्रमले स्थानीय स्तरमा शिक्षा, संस्कृति र सामाजिक सद्भाव प्रवर्द्धनमा सकारात्मक सन्देश दिएको ट्युसन सेन्टरका अध्यक्ष श्री सरोज शर्माले जनाएका थिए।