काठमाडौं। गृह मन्त्रालयले निर्वाचन प्रचारप्रसारका क्रममा राष्ट्रिय झण्डाको दुरुपयोग भएको पाइएमा कानुनअनुसार कडा कारबाही गरिने स्पष्ट पारेको छ। मन्त्रालयले आज जारी गरेको विज्ञप्तिमार्फत निर्वाचन आचारसंहिता, २०८२ उल्लंघन गर्ने राजनीतिक दल वा उम्मेदवारमाथि आवश्यक कारबाही प्रक्रिया अघि बढाइने जनाएको हो।

विज्ञप्तिअनुसार निर्वाचन आचारसंहिता, २०८२ को परिच्छेद–४ अन्तर्गत दफा १३ को खण्ड (न) मा दल वा उम्मेदवारले जुलुस, आमसभा, कोणसभा, घरदैलो भेटघाट वा कुनै पनि प्रकारको र्‍यालीमा बढीमा १० वटा मात्र राष्ट्रिय झण्डा प्रयोग गर्न पाउने स्पष्ट व्यवस्था गरिएको छ। सो सीमाभन्दा बढी राष्ट्रिय झण्डा प्रयोग गर्न वा गराउन नपाइने मन्त्रालयले जनाएको छ।

गृह मन्त्रालयले राष्ट्रिय झण्डा देशको सम्मान, सार्वभौमिकता र राष्ट्रिय एकताको प्रतीक भएकाले यसको प्रयोग कानुन र आचारसंहिताअनुसार मर्यादित ढंगले गर्न सबै राजनीतिक दल, उम्मेदवार तथा सरोकारवाला पक्षलाई आग्रह गरेको छ।

आचारसंहिता उल्लंघन भएको पाइएमा प्रचलित कानुनबमोजिम कारबाही प्रक्रिया अघि बढाइने चेतावनीसमेत मन्त्रालयले दिएको छ। निर्वाचनलाई स्वच्छ, निष्पक्ष र मर्यादित बनाउन सबै पक्षको जिम्मेवार व्यवहार आवश्यक रहेको मन्त्रालयको भनाइ छ।