वीरगञ्ज । जिल्ला प्रहरी कार्यालय पर्साले भन्सार चोरी पैठारी तथा राजस्व छली गरी अवैध रूपमा भण्डारण गरिएका करिब ३० लाख रुपैयाँ बराबरका खुद्रा सामान बरामद गरेको छ।

प्रहरीका अनुसार विशेष सूचनाका आधारमा आइतबार साँझ करिब ८ बजे वीरगञ्ज महानगरपालिका–७ स्थित रेल्वे सडकखण्डमा रहेको एस.बी. ट्रेडिङ्ग नामक गोदाममा छापा मारिएको थियो। उक्त गोदाम वीरगञ्ज महानगरपालिका–५ निवासी विकास गोयलले सञ्चालन गर्दै आएको र बिन्दु गोयलको नाममा दर्ता रहेको जनाइएको छ।

छापामारीका क्रममा भन्सार चोरी तथा राजस्व छलि गरी अवैध रूपमा भण्डारण गरिएको अनुमानित ३० लाख रुपैयाँ बराबरको स्टेशनरी, किराना तथा अन्य खुद्रा सामग्री बरामद गरिएको प्रहरीले जनाएको छ। बरामद सामानमा पेन्सिल, इरेजर, कटर, तास, टेप, बेलुन, लाइटर, रबर, जिविया, गुच्चा लगायतका विभिन्न मालवस्तु रहेका छन्।

जिल्ला प्रहरी कार्यालय पर्सा तथा मातहत वडा प्रहरी कार्यालय विर्ताबाट खटिएको संयुक्त प्रहरी टोलीले कानुनी प्रक्रिया पूरा गरी उक्त मालवस्तुहरू नियन्त्रणमा लिएको हो। बरामद गरिएका सबै सामानहरू आवश्यक कारबाहीका लागि राजस्व अनुसन्धान कार्यालयमा बुझाउने प्रक्रिया भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक हरि बहादुर बस्नेतले जानकारी दिएका छन्।

प्रहरीले भन्सार चोरी र राजस्व छलि नियन्त्रणका लागि निगरानी तथा कारबाही अभियानलाई निरन्तरता दिइने जनाएको छ।