राजन कुमार बानिया / पर्सा, १३ माघ । पर्सा जिल्लाको निर्वाचन क्षेत्र नम्बर–४ अन्तर्गत छिपहरमाई गाउँपालिका वडा नम्बर–५ भिस्वामा नेकपा (एमाले) को वडा स्तरीय अगुवा कार्यकर्ता भेला सम्पन्न भएको छ। आगामी प्रतिनिधिसभा निर्वाचनलाई केन्द्रमा राख्दै आयोजित भेलामा चुनावी रणनीति, संगठन सुदृढीकरण तथा पार्टीपंक्तिको प्रभावकारी परिचालनबारे गम्भीर छलफल गरिएको थियो।

कार्यक्रममा पर्सा–४ बाट प्रतिनिधिसभा सदस्यका एमाले उम्मेदवार जालिम मियाले पर्सा–४ लाई विकास, सुशासन र अवसरको दृष्टिले देशकै नमुना निर्वाचन क्षेत्र बनाउने दृढ प्रतिबद्धता व्यक्त गरे। उनले युवाको ऊर्जा, अनुभवी नेतृत्वको मार्गदर्शन र जनताको भरोसामा आधारित समावेशी विकासको खाका प्रस्तुत गर्दै रोजगारी, पूर्वाधार, शिक्षा र स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राख्ने बताए।

जालिम मियाले आगामी निर्वाचनमा आ–आफ्नो बुथमा पार्टीको चुनाव चिन्हमा मजबुत रूपमा मतदान गर्न कार्यकर्ताहरूलाई आग्रह गरे।

भेलामा नेकपा एमाले पर्सा जिल्ला उपाध्यक्ष तथा छिपहरमाई गाउँपालिका अध्यक्ष मनोज गुप्ता, वडा अध्यक्ष मौजिलाल साहलगायत पार्टीका नेता तथा कार्यकर्ताहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

भेलाले पर्सा–४ मा एमालेको संगठनात्मक गतिविधि थप सक्रिय र सुदृढ बन्दै गएको संकेत गरेको छ।