बारा, १४ माघ। बाराको परवानीपुर गाउँपालिका–१ रहरियाडीमा अज्ञात समूहको आक्रमणबाट आमा–छोराको निर्मम हत्या भएको छ। घटनामा सोही परिवारका अन्य तीन जना घाइते भएका छन्।

मृत्यु हुनेमा ३२ वर्षीय रामेश्वर मण्डल र उनकी ५२ वर्षीया आमा सुमित्री देवी रहेका छन्। अज्ञात व्यक्तिहरूले धारिलो हतियार प्रयोग गरी उनीहरूको टाउको काटेर हत्या गरेको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार बुधबार बिहान करिब ३ बजेतिर उक्त घटना भएको हो। आक्रमणमा परेर मण्डल परिवारकै अन्य तीन जना घाइते भएका छन्।

घाइतेहरूको परवानीपुरस्थित एलएस न्युरो अस्पतालमा उपचार भइरहेको छ। उनीहरूको स्वास्थ्य अवस्थाबारे थप विवरण आउन बाँकी रहेको प्रहरीले जानकारी दिएको छ।

घटनाको कारण र संलग्न व्यक्तिहरूको पहिचान हालसम्म खुल्न नसकेको भन्दै बारा प्रहरीले विस्तृत अनुसन्धान भइरहेको जनाएको छ।