पर्सा, १४ माघ । पर्सा निर्वाचन क्षेत्र नम्बर–४ अन्तर्गत पर्ने छिपहरमाई क्षेत्रमा समाजवादी पार्टी नेपाल (जसपा नेपाल) द्वारा सञ्चालन गरिएको घरदैलो कार्यक्रम उत्साहजनक जनसहभागितासहित भव्य रूपमा सम्पन्न भएको छ। युवाहरू, किसान, महिला तथा सर्वसाधारणको उल्लेखनीय उपस्थितिले कार्यक्रमलाई थप प्रभावशाली बनाएको थियो।

घरदैलो अभियानका क्रममा जसपा नेपाल पर्सा–४ बाट प्रतिनिधिसभा सदस्यका लोकप्रिय युवा उम्मेदवार डा. कृपासिन्धु प्रसाद चौधरीले “अबको परिवर्तन युवाको नेतृत्व” भन्ने सशक्त नारासहित स्थानीय बस्ती–बस्ती पुगेर मतदातासँग प्रत्यक्ष संवाद गरेका थिए। शिक्षित, ऊर्जावान र विकासमुखी सोच बोकेका उम्मेदवारका रूपमा चिनिएका डा. चौधरीप्रति स्थानीय मतदाताको आकर्षण र भरोसा स्पष्ट देखिन्थ्यो।

कार्यक्रममा सहभागी युवाहरूले पुरानो राजनीतिक शैलीबाट दिक्क भइसकेको र अब नयाँ सोच, नयाँ नेतृत्व र परिणाममुखी राजनीतिका लागि डा. चौधरी उपयुक्त विकल्प भएको प्रतिक्रिया दिएका थिए। स्थानीयवासीहरूका अनुसार डा. चौधरी जस्तो शिक्षित र जनमुखी नेताबाट मात्र पर्सा–४ ले दीर्घकालीन विकास र सुशासनको अनुभूति गर्न सक्छ।

घरदैलो कार्यक्रममा बोल्दै उम्मेदवार डा. चौधरीले सुशासन, पारदर्शिता, रोजगारी सिर्जना, शिक्षा र स्वास्थ्यमा गुणस्तरीय पहुँच तथा युवामैत्री नीतिलाई आफ्नो प्रमुख प्राथमिकता रहेको बताए। “युवाहरूको शक्ति र सोचलाई राजनीतिमा ल्याएर मात्र समाजमा वास्तविक परिवर्तन सम्भव छ। म पर्सा–४ का जनताको आवाज संसदसम्म पुर्‍याउन प्रतिबद्ध छु,” उनले भने।

कार्यक्रममा जसपा नेपालका प्रभावशाली नेता तथा पूर्वमन्त्री (ऊर्जा, सिँचाइ तथा खानेपानी मन्त्रालय) माननीय सिंगासन साह कलवार, साथै रामपुकार यादव, इन्द्राशन साह कलवार, सचिन सिंह, हिमान्चल कुशवाहा, रामसीश कुशवाहा लगायतका नेताकार्यकर्ताहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। उनीहरूले स्थानीय मतदातासँग अन्तरक्रिया गर्दै पार्टीको स्पष्ट दृष्टिकोण, भावी योजना र उम्मेदवार डा. चौधरीको क्षमता तथा इमान्दारिताबारे जानकारी गराएका थिए।

जसपा नेपालले आगामी दिनहरूमा पर्सा निर्वाचन क्षेत्र–४ का अन्य क्षेत्रहरूमा पनि घरदैलो तथा जनसम्पर्क कार्यक्रमलाई अझ तीव्र बनाउँदै लैजाने जनाएको छ। बढ्दो जनसमर्थन र उत्साहजनक माहौलले पर्सा–४ मा चुनावी सरगर्मी थप चुलिँदै गएको देखिएको छ।