पर्सा, १५ माघ । पर्सा जिल्लाको सबैया साझेदारी वन उपभोक्ता समूह, सबैयाटाँडीको लामो समयपछि साधारणसभा सफलतापूर्वक सम्पन्न भएको छ। साधारणसभाबाट लखनलाल साह सर्वसम्मत रूपमा अध्यक्ष पदमा निर्वाचित भएका छन्। पर्सा जिल्लाकै पहिलो साझेदारी वनका रूपमा परिचित सबैया साझेदारी वनमा लामो समयदेखि प्रतिनिधि छनोटसम्बन्धी विवादका कारण साधारणसभा हुन सकेको थिएन।

वन उपभोक्ता समूहको प्रतिनिधि छनोट प्रक्रिया नियमअनुसार नभएको आरोप लगाउँदै जिल्ला अदालत हुँदै उच्च अदालतसम्म मुद्दा पुगेको थियो।

अदालतले प्रतिनिधि छनोट प्रक्रियालाई वैधानिक ठहर गरेपछि वन नियमावली २०७९ को नियम ५६ बमोजिम आज साधारणसभा आयोजना गरिएको हो। अदालतको निर्णयपछि लामो समयदेखि रोकिएका वन व्यवस्थापनसम्बन्धी गतिविधिहरू पुनः सुचारु हुने विश्वास व्यक्त गरिएको छ।

साधारणसभाको बन्द सत्रबाट अध्यक्ष पदमा लखनलाल साह, उपाध्यक्ष पदमा असलम आलम र सदस्य पदमा शेख नेसाद अहमद सर्वसम्मत रूपमा निर्वाचित भएका छन्। अध्यक्ष पदका लागि लखनलाल साहसहित नेक महमद अन्सारी, हिरालाल राउत कुर्मी र समसुल होदा अन्सारी गरी चार जनाको उम्मेदवारी परेको थियो। तर तीन जनाले उम्मेदवारी फिर्ता लिएपछि साह निर्विरोध निर्वाचित भएका हुन्।

त्यसैगरी उपाध्यक्ष पदका लागि एक मात्र उम्मेदवारी परेकाले असलम आलम सर्वसम्मत चयन भएको निर्वाचन अधिकृत रामनारायण कुर्मीले जानकारी दिए। उनका अनुसार १३ सदस्य पदका लागि ५९ जनाको उम्मेदवारी परेको छ भने सदस्यहरूको निर्वाचन आगामी आइतबार हुने कार्यक्रम रहेको छ।

जिल्ला समन्वय समिति पर्साका प्रमुख निरन्जन साह सोनारको अध्यक्षतामा सम्पन्न साधारणसभाका प्रमुख अतिथि मधेस प्रदेश सरकारका वन तथा वातावरण मन्त्री शंकर चौधरी रहेका थिए। सो अवसरमा मन्तव्य राख्दै मन्त्री चौधरीले लामो समयदेखि अवरुद्ध रहेका सबैया साझेदारी वनका कामहरू आजको साधारणसभापछि सुचारु हुने विश्वास व्यक्त गरे। उनले वन संरक्षणमा सबै तह र समुदायको सक्रिय सहभागिता आवश्यक रहेको उल्लेख गर्दै वन विनाश भए चुरे क्षेत्र गम्भीर रूपमा प्रभावित भई उर्बर भूमि मरुभूमिमा परिणत हुने खतरा रहेको चेतावनीसमेत दिए।

कार्यक्रममा साझेदारी वन उपभोक्ता महासंघका संस्थापक अध्यक्ष रामरुप प्रसाद कुर्मी, मधेस प्रदेश संयोजक गणेश साह, गढीमाई साझेदारी वन उपभोक्ता समूहका अध्यक्ष सोहरुम गदी, सबैया साझेदारी वनका संस्थापक अध्यक्ष सत्यनारायण दास थारुलगायत वक्ताहरूले शुभकामना मन्तव्य व्यक्त गर्दै नवनिर्वाचित नेतृत्वलाई सफल कार्यकालको कामना गरेका थिए।

सबैया साझेदारी वन उपभोक्ता समूहमा वीरगञ्ज महानगरपालिकाका ३० वटा वडा र पर्सागढी नगरपालिकाका २ वटा वडा गरी कुल २५८ जना प्रतिनिधि रहेका छन्। कार्यक्रमको स्वागत मन्तव्य जिल्ला वन कार्यालय पर्साका प्रमुख मन्जुर अहमदले प्रस्तुत गरेका थिए भने कार्यक्रमको सहजीकरण वन अधिकृत जवाहरलाल प्रसाद कुर्मीले गरेका थिए।
लामो समयपछि सम्पन्न भएको यस साधारणसभालाई स्थानीय समुदायले सकारात्मक रूपमा लिएका छन् भने अब वन संरक्षण, व्यवस्थापन र विकासका कामहरू प्रभावकारी रूपमा अघि बढ्ने अपेक्षा गरिएको छ।