पर्सा, १५ माघ। पर्सा निर्वाचन क्षेत्र नं. ४ अन्तर्गत पर्ने छिपहरमाई गाउँपालिका–३ जयमंगलापुरमा जनता समाजवादी पार्टी (जसपा) नेपालले आयोजना गरेको घरदैलो कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ।

स्थानीय युवाहरू तथा सर्वसाधारणको उल्लेख्य सहभागितामा सम्पन्न कार्यक्रमले क्षेत्रीय राजनीतिमा सकारात्मक सन्देश प्रवाह गरेको छ।
घरदैलो अभियानका क्रममा जसपा नेपाल पर्सा–४ तर्फका प्रतिनिधिसभा सदस्यका युवा उम्मेदवार डा. कृपासिन्धु प्रसाद चौधरीले “अबको परिवर्तन युवाको नेतृत्व” भन्ने चुनावी नारासहित मतदातासँग प्रत्यक्ष भेटघाट तथा संवाद गर्नुभएको थियो।

स्थानीय बस्ती–बस्तीमा पुगेर गरिएका छलफलले युवापुस्तामा नयाँ राजनीतिक सोच र परिवर्तनप्रतिको चाहना बलियो बन्दै गएको संकेत गरेको सहभागीहरूको भनाइ छ।
कार्यक्रममा बोल्दै जसपा नेपालका नेताहरूले सुशासन, पारदर्शिता, रोजगारी सिर्जना तथा युवामैत्री नीति पार्टीको प्रमुख एजेन्डा रहेको स्पष्ट पारे। साथै, स्थानीय स्तरमा देखिएका समस्या पहिचान गरी तिनको समाधानका लागि संसददेखि सडकसम्म संघर्ष गर्ने प्रतिबद्धता व्यक्त गरिएको थियो।

घरदैलो कार्यक्रममा पूर्व मन्त्री तथा ऊर्जा, सिँचाइ र खानेपानी मन्त्रालयका मा. सिंगासन साह कलकार, रामपुकार यादव, इन्द्राशन साह कलवार, सचिन सिंह, हिमान्चल कुश्वाहा, रामसीश कुशवाहालगायत जसपा नेपालका थुप्रै नेता तथा कार्यकर्ताहरूको उपस्थिति रहेको थियो।

जसपा नेपालले आगामी दिनहरूमा पर्सा–४ का अन्य क्षेत्रहरूमा समेत घरदैलो तथा जनसम्पर्क कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ।